सन्दीपविरुद्धको मुद्दामा आजलाई पेसी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार) मुद्दाको सुनुवाइका लागि आजलाई पेसी छ। काठमाडौं जिल्ला अदालतमा १ वर्षदेखि विचाराधीन रहेको मुद्दामा फैसलाका लागि पटक पटक पेसी तोकिँदै आए पनि अदालतले निर्णय सुनाउन सकेको छैन।
लामिछानेविरुद्धको मुद्दामा यसअघि गत २४ गते पेसी थियो। उक्त दिन लामिछानेका वकिलकै तर्फबाट मुद्दा स्थगित भएको थियो। यो मुद्दामा हालसम्म ३२ पटक पेसी तोकिएकामा ८ पटक स्थगन मात्रै भएको छ।
मंसिर २४ गते, आइतबार पेसी तोकिएको दिन लामिछानेका तर्फबाट बहस गर्ने वरिष्ठ कानून व्यवसायी अदालतमा उपस्थित हुन नसकेकाले सुनुवाइ स्थगन गर्न माग गरिएको थियो। त्यसपछि इजलासले मुद्दा स्थगन गरिएको जनाएको थियो।
१ वर्षभन्दा बढी समयदेखि विचाराधीन उक्त मुद्दाको सन्दर्भमा सर्वोच्च अदालतले ‘फास्ट ट्र्याक’बाट छिनोफानो गर्न आदेश समेत दिएको छ। यसअघि गत कात्तिक २३ गते भएको सुनुवाइमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट पेस गर्न आदेश दिएको थियो।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछाने विरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।
१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी) माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ। सन्दीप विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ।
उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सन्दीप विरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको हो।
१७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक पटक बलात्कार गरेको भन्दै गत वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन्।
पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्‍याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको जनाएकी थिइन्।
पीडित किशोरीको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी अभियोगपत्रमा गरिएको छ।
सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीको बयान छ। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँचसमेत गराएको थियो।
पीडित भनिएकी किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत नजिकिएका थिए। स्न्याप च्याटमार्फत चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको जनाईएको छ।

LEAVE A REPLY