क्रिकेट एक्सिलेन्सलाई हराउँदै महावीर फाइनलमा

काठमाडौं । क्रिकेट एक्सिलेन्स सेन्टरमाथि पाँच विकेटको जित निकाल्दै महावीर क्लब प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोटको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार मूलपानी क्रिकेट मैदानमा मंगलबार क्रिकेट एक्सिलेन्स सेन्टरले प्रस्तुत गरेको १७० रनको लक्ष्य महावीरले ३०.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।
महावीरका कप्तान रविन जोशीले ६८ बलमा सात चौका र एक छक्कासहित अविजित ७७ रन बनाए । नवीन तामाङले ३७, प्रतिश जिसीले २२ र विभत्सु थापाले १६ रन बनाए ।
क्रिकेट एक्सिलेन्सका लागि दयानन्द मण्डलले तीन विकेट लिए । यस्तै, सोनु देवकोटा र मनोज यादवले एक–एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको क्रिकेट एक्सिलेन्सले ४४.२ ओभरमा सबै विकेट गुमाएर १६९ रनको योगफल तयार पारेको थियो ।
क्रिकेट एक्सिलेन्सका ३७, विवेक तामाङले २९, सोनु देवकोटाले २०, दयानन्द मण्डलले १९, विरेन्द्र साउदले १३ र मनोज यादवले १० रन बनाए ।
महवीरका राकेशकुमार कर्णले चार विकेट लिए । सार्थक धितालले तीन विकेट लिँदा प्रतिश जिसी, शरद भेषवाकर र तेज कुँवरले समान एक विकेट लिए ।
महावीरले अब उपाधिका लागि ग्रेट हिमालयन क्रिकेट क्लबको सामना गर्ने छ । यसअघि ग्रेट हिमालयनले न्यू भिजन क्लबलाई सात विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

 

LEAVE A REPLY