काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन सरकार पाँचै वर्ष जाने जनाएका छन् ।
गोरखाको वारपाक सुलिकोट गाउँपालिकामा आयोजित जनतासँग अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धनको सरकार पाँचै वर्ष टिक्ने जनाएका हुन् । गठबन्धन सरकारको एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने काम भएको जनाउँदै प्रधानमन्त्रीले बाँकि ४ वर्षमा धेरै राम्रा काम गरिने जनाए ।
उनले भने–’सरकारले यो एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने केही कामहरु गरेको छ । नागरिकता समस्या , मिटरव्याजीको समस्या , सामाजिक सुरक्षाको क्षेत्रमा , विकास निर्माणको क्षेत्रमा सरकारले बुढिगण्डकी आयोजना , जलवायु न्यायको विषयमा पर्वतिय देशहरुको नेतृत्व गरिएको छ । एक वर्षमा यति काम भएभने बाँकि ४ वर्षमा त झनै धेरै राम्रा काम हुनेछन् ।’
सरकारले राम्रा कामको सुरुवात गरेको भएको भएपनि गणतन्त्र र परिर्वतन विरोधिहरुले ती काम राम्रा भए भनेर नभन्ने बताउँदै राम्रा कामको पचार जनता र परिर्वतन पक्षधरले गर्नुपर्ने प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले गाउँगाउँमा सिंहदरबारको रुपमा महिला, दलित र सबैको समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था स्थापना गरेका छौं । यसबाट धेरै राम्रा काम पनि भएका छन् । त्यसको पक्षमा हामीले बोल्नुपर्छ । सरकारका राम्रा कामको प्रचार हामीले नै गर्नुपर्छ ।’
पछिल्लो समय परिर्वतन विरोधिहरुले सरकार, गठबन्धन र प्राप्त उपलब्धिका विरुद्ध सडयन्त्र गरिरहेको प्रधानमन्त्रीको भनाइ छ। त्यसकै कारण नकारात्मक मात्रै देखाएर अध्यारो मात्रै देखाउने काम गर्न खोजिएको उनले जनाए। यद्यपी त्यस्ता सडयन्त्र र परिर्वतन विरोधि अवरोध छिचोल्न सरकार सफल बनेको प्रधानमन्त्रीको भनाई छ ।
गठबन्धनका विरुद्ध विभिन्न सडयन्त्र र धार्मिका द्धन्द्ध सिर्जना गर्न खोजियो । तर उनीहरुले जतिसुकै बल गरेपनि केही भएको छैन । हामीले बडो धैर्यताको साथ धार्मिक र अतिवादी प्रयास विफल तुल्यायौं,’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले पहिलो वर्ष गठबधन परिर्वतन लगायतका विभिन्न अलमलका बजेट निर्माणमा राम्रो ध्यान दिन नसकिएको जनाउँदै यो वर्ष बजेट निर्माणमा व्यापक छलफल गरेर जनताको सहभागीता बजेट निर्माणमै गराइने जनाए ।
‘निर्वाचन लगत्तै एउटा परिस्थितिमा सरकार बन्यो र मैले त्यो सरकारको नेतृत्व गर्न पाएँ, पछि फेरि राजनीतिक कोर्स फेरियो म फेरि गठबन्धनको प्रधानमन्त्री बनें’ उनले भने, ‘ त्यतिबेलासम्ममा नीति तथा कार्यक्रम बनिसकेको थियो, त्यसैले गत वर्ष पर्याप्त ध्यान पुग्न सकेन, आगामी बजेटमा म उचित सम्बोधनको प्रयास गर्नेछु ।’