काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डबीच भेटबार्ता भएको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले संघीयता कार्यनयन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार प्राप्त गर्नको लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
मुख्यमन्त्रीहरू शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा बैठक बसी नौ बुँदे साझापत्र तयार गरी प्रधानमन्त्रीसँग भेटवार्ता गर्न आएका हुन् ।
भेटवार्तामा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, कर्णालीका राजकुमार शर्मा, लुम्बिनीका डिल्लीबहादुर चौधरी, गण्डकीका सुरेन्द्रराज पाण्डे, बागमतीका शालिकराम जम्कट्टेल, मधेशका सरोजकुमार यादव र कोशी प्रदेशका केदार कार्कीको सहभागीता रहेको थियो ।
यसअघि शुक्रबार हेटौंडामा बसेको मुख्यमन्त्रीहरुको बैठकले तीनै तहको सरकारलाई प्रभावकारी बनाउन संविधान निर्माणमा संलग्न प्रमुख दलहरुबीच साझा धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
यसका लागि नियमित छलफल गर्ने संयन्त्र विकास गरी राष्ट्रिय सहमतिसहितको साझा धारणा निर्माणमा पहल गर्न प्रधानमन्त्रीलाई अनुरोध गरिएको छ ।