काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले बालकुमारी घटना स्वाभाविक नभएको जनाएको छ ।
मङ्गलवार केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले घटना रहस्यमय देखिएको जनाएका हुन् ।
‘आयोग गठन भएको छ । विस्तृत रिपोर्ट आयोगले नै बाहिर ल्याउँछ । यो गम्भीर विषय हो । प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहनुभएको छ । यस घटनालाई रूप र सारमा हेर्नुपर्छ’, उनले भने, ‘जनतामा आक्रोश हुनु स्वाभाविक हो । तर गोली नै चल्नुपर्ने अवस्था थिएन । यद्यपि यो घटना स्वाभाविक छैन । रहस्यमय छ । प्रथम दृष्टिमै गलत भएको छ । विभिन्न बहानामा जनतालाई भड्काउने काम भइराखेको हुनसक्ने हामीले भन्न सक्छौँ ’ उनले भने ।
यो गम्भीर विषय भएकाले प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहेको उनले जानकारी दिए ।