काठमाण्डौ । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुने भएको छ । आगामी फागुन २० गते १९ जना राष्ट्रियसभाका सदस्यको पदावधि सकिने भएपछि एक महिना अगावै निर्वाचन हुन लागेको हो।
सत्ता गठबन्धन एकजुट भएर राष्ट्रियसभाको निर्वाचनमा होमिएको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रेको छ । जसअनुसार गठबन्धनबाट १९ जना चुनावी मैदानमा छन् । जसमा कांग्रेसबाट १० जना, माओवादी केन्द्रबाट ६ जना, एकीकृत समाजवादीबाट २, जनता समाजवादीबाट १ जनाको उम्मेदवारी परेको छ।
त्यस्तै नेकपा एमालेबाट १९ र राप्रपाबाट ९ जना मैदानमा छन् । कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौला र मधेशमा आनन्द ढुङ्गाना, बाग्मतीमा जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार तथा लुम्बिनीमा विष्णुकुमारी सापकोटा, कर्णालीमा कृष्णबहादुर रोकाया, सुदूरपश्चिममा बलदेव बोहरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाएको छ ।
माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दलाई उठाएको छ।
नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशका दलित कोटाबाट दोलखाका घनश्याम रिजाल र कर्णाली प्रदेशको महिला कोटाबाट दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाएको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय सभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाएको छ।
त्यस्तै एक्लै मैदानमा उत्रिएको एमालेले १९ जना नै उम्मेदवार तय गरेको छ। एमालेले कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) लाई उठाएको छ। मधेस प्रदेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी) उम्मेदवार भएका छन्।
बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता (अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ) उठ्दैछन्। गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा) र अपांगताअल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) उम्मेदवार भएका छन्।
लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा) लाई उम्मेदवार बनाइएको छ। कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु), दलितबाट हिक्मत विक (दैलेख) उम्मेदवार भएका छन्।
सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपांगता अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली) लाई उम्मेदवार बनाइएको छ।
राप्रपाले कोशीमा उद्धव पौडेल, बागमतीमा महिलामा नानू नगरकोटी, दलितमा पूर्णबहादुर खड्का, अपाङ्गमा भरतमणि भट्ट र अन्यमा हेमजङ गुरुङलाई उम्मेदवार बनाएको छ । त्यस्तै गण्डकीमा महिलाबाट गौमाया श्रेष्ठ र पुरुषबाट रोमबहादुर भण्डारी, लुम्बिनीबाट निरञ्जन थापा र विजयीलक्ष्मीलाई उम्मेदवार बनाइएको छ ।