काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक आह्वान गरेको छ । बैठक आगामी शनिबार बिहान ११ बजेका बोलाइएको कोषाध्यक्ष तथा कार्यलयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।
बैठकमा विधान संशोधनका विषयमा छलफल हुने उनको भनाइ छ । माओवादीले विधान संशोधनका लागि उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । सोही समितिले आएका सुझाव प्रस्तुत गर्ने छ ।
मस्यौदा समितिका सदस्य तथा उपमहासचिव गिरिराजमणि पोखरेलका अनुसार केन्द्रीय कमिटीको आकार घटाएर १५१ सदस्यीय बनाउने प्रस्ताव पेस गरिने छ । केन्द्रीय कमिटीको आकार ९९ सदस्यीय बनाउन पनि सुझाव आएको छ ।
ढकालका अनुसार बैठकले विधान सम्मेलनको मिति तय गर्ने छ । माओवादीले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेकको छ । तर, मिति तोक्न बाँकी छ ।
पार्टीले चार महिनासम्म चलाएको रूपान्तरण अभियानको समीक्षा गर्ने एजेन्डा स्थायी कमिटी बैठकको छ । त्यसैगरी नेताहरूको कार्यविभाजन तोक्ने तयारी पनि छ ।