राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक सुरक्षाको प्रबन्ध गर्न आयोगको निर्देशन

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक सुरक्षाको प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले बुधवार एक विज्ञप्ति जारी गर्दै माघ ११ गते हुने निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै सुरक्षाको प्रबन्ध गर्न निर्देशन दिएको हो ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदान स्थललगायतको सुरक्षा प्रबन्ध गर्न आयोगले भनेको छ ।
यस्तै, आयोगले मतपत्र ढुवानी कार्ययोजना बमोजिम गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा प्रबन्ध, आवश्यक सुरक्षाको समुचित व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
यस्तै, प्रदेश राजधानी रहेका जिल्लाहरू क्रमशः मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलालीमा रहेका प्रदेश निर्वाचन कार्यालयहरूमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचनको कार्यमा खटिएका सम्पूर्ण जनशक्तिको सुरक्षा व्यवस्था मिलाउन पनि आयोगले सरकारलाई निर्देशन दिएको छ ।

LEAVE A REPLY