काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार सुर्खेत जाँदैछन ।
सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको विभिन्न कार्यक्रम तथा पार्टीको प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्न उनी त्यसतर्फ जान लागेका हुन ।
मध्यपश्चिम विश्वविद्यालयका उप कुलपति नन्दबहादुर सिंहका अनुसार अध्यक्ष ओलीले विद्यालयको स्कूल अफ मेनेजमेन्ट (मुसुम) को नवनिर्मित भवनको उद्घाटन गर्नेछन । सोही भवनमा सञ्चालन हुने कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि सम्बन्धी संस्थाको पनि शुभारम्भ गर्नेछन ।
यस्तै, विश्वविद्यालयको डिजिटलाइजेशन एण्ड अटोमेशन सिस्टम कार्यक्रमको पनि उद्घाटन गर्नेछन । विश्वविद्यालयलाई पेपरलेस बनाउन ४ वर्षदेखि भएको प्रयासको परिणामस्वरूप सुरु भएको सो कार्यक्रमको उद्घाटन पनि अध्यक्ष ओलीले नै गर्ने उपकुलपति सिंहले जानकारी दिए ।
यसबाहेक अध्यक्ष ओली र विश्वविद्यालयका विद्यार्थीबीच एक घण्टा अन्तरक्रिया कार्यक्रम समेत रहेको छ ।
अध्यक्ष ओलीले साँझमा एमाले कर्णाली प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।














