वर्तमान सरकार हरेक हिसाबले असफल भएको शंकर पोखरेलको दाबी

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमास सरकार हरेक हिसाबले असफल भएको दाबी गरेका छन ।
अनेरास्ववियु केन्द्रीय कमिटीको तेस्रो बैठकलाई शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले देश र जनताको हित विरुद्धका क्रियाकलाप अब एमालेले टुलुटुलु हरेर बस्न नसक्ने जानकारी दिए । एमाले अब मिसन २०८४ मात्रै भनेर नबस्ने पोखरेलले प्रष्ट पारे ।
पोखरेलले वर्तमान सरकारको भ्रष्टाचार, तस्करी, कालोबजारी विरुद्ध जनपरिचालनको काममा उत्रिन अनेरास्ववियुलाई अनुरोध गरे । ‘हरेक हिसाबले यो सरकार असफल छ, इतिहासमा यति अयोग्य सरकार थिएन, यसका विरुद्धको आवाज सशक्त भएन भने अनेरास्ववियुको औचित्य पुष्टि हुन सक्दैन’, उनले भने ।
मुलुकलाई सही बाटोमा अघि बढाउने हो भने राजनीतिमा दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुपर्ने उनले जनाए । पोखरेलले जसले जानेको ज्ञानलाई व्यवहारमा लागु गर्दछ त्यो नै क्रान्तिकारी हुने जानकारी दिए । कुरा एउटा गर्ने काम अर्को गर्नेहरू जाली र अवसरवादी हुने पोखरेलको भनाइ छ । समाज परिवर्तनका लागि ज्ञानलाई व्यवहारमा परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए ।
‘वास्तवमा क्रान्तिकारी त्यो हो, जसले जानेको ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्दछ’, पोखरेलले भने ।
शास्त्रमा लेखिएको ज्ञानले मात्र समाज नबदलिने पोखरेलले जनाए । ‘जीवनसँग नजोडिने सिद्धान्त मरेतुल्य हुन्छ, यसलाई अर्को अर्थमा पनि लिन सकिन्छ, व्यवहार बिनाको ज्ञानको कुनै अर्थ छैन’, उनले भने ।
पोखरेलले वैचारिक र राजनीतिक कामको अभावमा अवसरवाद जन्मिने जनाए । ‘जब हामी वैचारिक र राजनीतिक काम कम गर्दछौँ, अवसरवाद मौलाउँदै जान्छ’, पोखरेलले भने ।
नेपालको शासन व्यवस्थामा देखिएको समस्या समाधान गर्ने काम एमालेले मात्र गर्न सक्ने पोखरेलले जनाए । एमालले छोटो समय देश सञ्चालन गर्दै तिव्रतर देश विकासको काम गरेको उहाँले स्मरण गराए ।

LEAVE A REPLY