तनहुँमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ नारीघाटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो जीप गए राति अनियन्त्रित भई सडक छेउमा पल्टिँदा जीपमा सवार चितवनको इच्छाकामना गाउँपालिका ६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइतेहरुमध्ये ६ जना चितवनका र एक जना गोरखाका छन् ।
दुर्घटनामा चितवनको इच्छाकामना ५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ घाइते भएका छन् ।
यसैगरी चितवनको इच्छाकामना ६ बस्ने १९ वर्षीय रुपक गुरुङ र चितवनकै भरतपुर महानगरपालिका २९ बस्ने टेष्टबहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका ३ बस्ने ३० वर्षीय पूर्ण गुरुङ पनि घाइते भएका छन् ।
घाइतेमध्ये छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने पूर्ण गुरुङ उपचारपश्चात घर फर्किएको प्रहरीले जानकारी दिएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY