काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालकोटस्थित निजी निवासबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ लागेका छन् ।
केहीबेर अघि पार्टीको सचिवालय बैठक सकेर ओली बालुवाटारतर्फ प्रस्थान गरेका हुन् । बालुवाटार जाने क्रममा आफ्नै निवास परिसरमा उपस्थित सञ्चारकर्मीसँग ओलीले संक्षिप्त प्रतिक्रिया दिए ।
उनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक ‘टीआरसी’ मिलाउनु पर्ने जनाए । उनले प्रधानमन्त्रीले बोलाएका कारण आफू बालुवाटार जान लागेको पनि प्रस्ट पारे ।
‘प्रधानमन्त्रीज्यूले बोलाउनु भएको थियो,’ ओलीले भने, ‘यसो चिया खान बोलाएको होला ।’
उनले सरकार फेरिन्छ कि फेरिँदैन भन्ने कुरा प्रधानमन्त्रीलाई नै सोध्न उपयुक्त हुने जानकारी दिए । ‘सरकार फेरिन्छ कि फेरिँदैन भन्ने कुरा प्रधानमन्त्रीले जान्ने कुरा हो,’ उनले भने ।