काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई राम्रो काम गर्न निर्देशन दिएका छन् । अध्यक्ष ओलीले बिहीबार साँझ मन्त्री दम्पतीलाई बालकोट बोलाएर राम्रो काम गर्न निर्देशन दिएका हुन् ।
‘राम्रोसँग काम गर्नु । राम्रो डेलिभरी दिनुपर्छ । राम्रो कुरा सुन्न पाउँ,’। फागुन २१ मा नयाँ सत्ता समीकरण बनेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट सचिव रघुवीर महासेठको नेतृत्वमा आठ जना मन्त्री सरकारमा सहभागी छन् ।
सचिव महासेठ उपप्रधान तथा भौतिक ,पदम गिरी कानुन, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, भगवती चौधरी महिला, राजेन्द्रकुमार राई खानेपानी र हरिप्रसाद उप्रेती रक्षा मन्त्री छन् ।
ओलीले आफ्नो निवासमा बोलाएर मन्त्री दम्पतीलाई ‘हाइ टी’ पनि दिएका थिए । मन्त्री भएपछि लोभ पलाउने भन्दै विभिन्न कुराहरूबाट जोगिएर काम गर्न मन्त्री दम्पतीलाई ओलीको निर्देशन थियो । ‘मन्त्री भएपछि मन्त्री मात्र होइन मन्त्रीको परिवार पनि गाँसिएको हुन्छ । कता के हुन्छ ? लोभ पलाउँछ । कुन्नी के हुन्छ ? त्यस्तो कुराहरूबाट जोगिएर मेरो ठुलो जिम्मेवारी छ भन्ने कुरा बुझेर काम गर्नुहोला ,’ मन्त्री दम्पतीलाई ओलीको निर्देशन थियो ।
एमालेका आठ जना मन्त्रीमध्ये कृषि मन्त्री साह मात्र एक्लै बालकोट पुगेकी थिइन् भने बाँकी सात जना मन्त्री दम्पतीसहित पुगेका थिए ।














