दिल खोलेर प्रचण्डलाई विश्वासको मत दिने ओलीको घोषणा

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विनाहिचकिचाहट दिल खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुलाई विश्वासको मत दिने घोषणा गरेका छन् । अनुचित गठबन्धन छाडेर उचित गठबन्धन बनाउन प्रचण्डले लिएको पहल कदमी स्वागत योग्य रहेको ओलीले जनाए ।
संसद् भवन नयाँ बानेश्वरमा मंगलवार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले देशभक्त गठबन्धन नयाँ समीकरण बनाउने पहल स्वागत योग्य रहेको जनाएका हुन् ।
‘भोलि संसद्‌मा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम छ । पहिले पहिलेका कुरामा प्रधानमन्त्रीले गल्ती गरेको हुनसक्छ । अहिले एकदम राम्रो छ, अनुचित गठबन्धन छाडेर उचित बनाउन पहल कदमी लिनुभयो । एक डेढ वर्ष पद सुरक्षित हुँदाहुँदै पनि देश अप्ठ्यारोमा पर्‍यो भनेर प्रधानमन्त्रीजीले अहिले चालेका कदम सकारात्मक छ’, ओलीले भने, ‘देशभक्त गठबन्धन नयाँ समीकरण बनाउने पहल स्वागत योग्य कुरा हो । उहाँले प्रधानमन्त्री माथि विश्वासको मत माग्नु हुनेछ, हामी समर्थन गर्छौं ।’
प्रचण्ड सरकार असफल भए देश दुर्घटनामा पर्ने खतरा रहेको भन्दै ओलीले विश्वासको मत दिन सांसदहरूलाई निर्देशन दिए ।
‘हामीले दिल खुलेर विनाहिचकिचाहट विश्वासको मत दिन्छौं । विश्वासको मतमा हामी सम्पूर्ण प्रतिनिधि सभाका सदस्य उपस्थित हुनेछौं’, ओलीले भने, ‘यो सरकार असफल हुनु भनेको देश ठूलो असफलतामा जानु हो । यो बेष्ट अप्सन हो कि होइन भन्ने कुरा छाडौं, यतिबेला प्रचण्डलाई विश्वासको मत दिनु बाहेक अरु अप्सन छैन ।’

LEAVE A REPLY