काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले
सुशासन र विकास के हो भन्ने कुरा देखाउने दाबी गरेका छन ।
आज वीरगञ्जमा आयोजित एमाले पर्साको प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नागरिकमा छाएको निराशा चिर्न नयाँ गठबन्धन बनाइएको जानकारी दिए ।
पोखरेलले आर्थिक सामाजिक विकासका दृष्टिले मधेस जुन हिसाबले अघि बढ्नु पर्नेमा त्यस अनुसार अघि बढ्न नसकेको जनाए । क्षेत्रीयतावादले मधेसी जनताको हित गर्न नसक्ने उनको भनाइ छ । मधेसवादको राजनीति गर्नेहरू पनि अब राष्ट्रिय राजनीतिमा जोडिने प्रयत्नमा रहेका तर उहाँहरूको कारण मधेसको समय बरबाद भएको पोखरेलले जनाए ।
एमालेलाई मधेश विरोधी हो भन्ने कुप्रचार गर्ने प्रयत्न गरिएको भए पनि त्यो सफल हुन नसकेको पोखरेलले स्पष्ट पारे । एमालेको नेतृत्वमा सरकार बनेपछि मधेसले पहिलो पटक परिवर्तनको अनुभूति गर्न पाएको उनको भनाइ छ । मधेस परिवर्तनको श्रेय कसैलाई जान्छ भने त्यो नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई जाने उनले प्रष्ट पारे । नेपाली जनताको स्वाभिमान जगाउने नेताको रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली भएको उनले जानकारी दिए । छिमेकीको आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने एक मात्र नेता केपी ओली भएको उनले दाबी गरे ।
कांग्रेस र मधेस केन्द्रित दलका नेता पटक पटक मन्त्री बन्दा पनि मधेसको विकासमा काम नगरेका उनले जनाए । आज मधेसको रूप रङ्ग फेरिनुको मुख्य कारण एमाले भएको उनले दाबी गरे । ‘मधेसका जनताको पीडामा सबैभन्दा संवेदनशील नेकपा एमाले छ भन्ने कुरा हामीले प्रमाणित गरेर देखाएका छौँ’, पोखरेलले भने ।
नेपालको पानीमा पहिलो अधिकार नेपालको छ भन्ने कुराको आधारमा नदीको पथान्तरको काम एमालेले सुरु गरेको पोखरेलले जनाए । नेपालको सबैभन्दा ठुलो सिँचाइ परियोजनाको कामको रूपमा सुनकोसी–मरिण डाइभर्सनको काम भइरहेको उनले जनाए । यसबाट नेपालको तराई–मधेस कृषिको नमुना क्षेत्रको रूपमा विकास हुने उनले प्रष्ट पारे । एमालेलाई अदालत प्रयोग गरेर सत्ताबाट हटाएपछि नेपालको दुर्भाग्यको दिन सुरु भएको र विकास र समृद्धिका सबै काम रोकिएका पोखरेलले प्रष्ट पारे । आज मुलुक चरम निराशामा डुबेको उनको धारणा छ ।
राष्ट्र निर्माणको लागि बलियो राजनीतिक दल, स्थिरता र स्थायित्व जरुरी रहने उनले जनाए । नेपालको सन्दर्भमा यो क्षमता एमालेसँग मात्र रहेको उनको भनाइ छ । नेपाली समाजको मनोविज्ञान बुझेर देशको स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिलाई अगाडि बढाउन सक्ने एक मात्र पार्टी नेकपा एमाले भएको पोखरेलले दाबी गरे ।
एमालेलाई राष्ट्रिय शक्तिको रूपमा विकास गर्न आवश्यक रहेको उनले जोड दिए । मधेस प्रदेशका सबै जिल्लामा एमालेले अभियान सुरु गर्ने पनि महासचिव पोखरेलले जानकारी दिए । मधेस प्रदेशका सबै जिल्लामा पार्टी अध्यक्षलाई ल्याउने योजना पार्टीले बनाएको उनले जानकारी दिए ।