रोकिएको ट्रकमा बस ठोक्किँदा एकको मृत्यु, चारजना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दास रहेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै, दुर्घटनामा परी चार जना घाइते भएका छन् ।
शनिबार राति टायर पन्चर भएर रोकिरहेको ट्रकमा बस ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ८५२४ नम्बरको बस ना ६ ख ३२८० नम्बरको ट्रकमा ठोक्किएको थियो ।
घाइते हुनेमा ट्रक चालक पर्सा वीरगञ्ज महानगरपालिका–२३ बस्ने ३३ वर्षीय हाकिम मिया, बसमा सवार सर्लाही बरहथवा नगरपालिका मिलनचोक बस्ने २५ वर्षीया पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने ३२ वर्षीय अम्बरनाथ कुमार र भारत बिहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रीता गुप्ता रहेका छन् ।
घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
बस चालक नवलपरासी (सुस्तापूर्व) कावासोती नगरपालिका–१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

LEAVE A REPLY