काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कुनै एक दलको बहुमत नहुँदा देश बर्बादीमा परेको टिप्पणी गरेका छन ।
सर्लाहीको बरहथवामा आइतबार एमाले सर्लाहीको प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले कुनै पनि राजनीतिक दलसँग एकल बहुमत नहुँदा राजनीतिक स्थिरता कायम नभएर देश बर्बाद भएको टिप्पणी गरेका हुन ।
“कुनै दलसँग बहुमत नभएकाले अहिलेको स्थिति आएको हो,” उनले भने, “राजनीतिक स्थिरता कायम नभएसम्म यही अवस्था रहिरहन्छ ।”
उनले छ, छ महिनामा सरकार फेरिने समस्या दुःखद् रहेको धारणा व्यक्त गरे । पोखरेलले २०८४ को निर्वाचनमा नेकपा एमालेले एकल बहुमत ल्याउने दाबी गरे ।
आगामी निर्वाचनमा एमालेको लक्ष्य एकल बहुमत ल्याउने रहेकाले पार्टीका कार्यकर्तालाई जनतामाझ समस्या सुन्ने र त्यसको समाधान गर्ने काममा केन्द्रित हुन वरिष्ठ उपाध्यक्ष पोखरेलले निर्देशन दिए ।
एमाले मजबुत भएपछि देशले निकास पाउने उनले स्पष्ट पारे ।