काठमाण्डौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस दूधले नुहाएको पार्टी नभएको टिप्पणी गरेका छन् ।
सहकारीको रकम हिनाहिनाका विषयमा उजुरी परेको भन्दै कांग्रेसले निरन्तर राजीनामा मागेपछि सञ्चारकर्मीसामु प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले भने, ‘पूरक उजुरीमा, ठाडो उजुरीमा गृहमन्त्रीको राजीनामा माग्ने कांग्रेस दूधले नुहाएको पार्टी होइन भन्ने नेपाली जनताले बुझेका छन् ।’
अनुसन्धान गर्दागर्दैको मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्न नसुहाउने उनको कथन छ ।
आफूहरू काम गर्न सरकारमा गएको भन्दै उनले त्यसको संकेत देखाइसकेको जनाए । ‘हामी काम गर्नलाई अघि बढेका छौं । कामको संकेत यहाँहरूले देखिसक्नुभएको छ,’ उनले भने ।
रास्वपा सभापति समेत रहेका लामिछानेले संसदीय समिति बनाउने र राजीनामा माग्ने अडान कायम राख्न कांग्रेसलाई चुनौती समेत दिए ।
‘यही अभ्यास गर्न खोजिएको हो भने कांग्रेसले बाँकी ४ वर्षको अवधि संसद् अवरोध गरोस्, हाम्रो यही संयन्त्रले ४ वर्ष मजाले काम गरोस् । त्यसपछि हेर्नुहोला, ४ वर्षपछि धेरै मान्छे संसदमा हुँदैनन्,’ उनले भने ।