काठमाण्डौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुँदैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बस्ने बैठकले निर्वाचन प्रक्रिया अघि बढाउनेछ।
राष्ट्रियसभा उपाध्यक्षका लागि मंगलबार दुईजनाको उमेदवारी दर्ता भएको छ । नेकपा (एमाले) की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उमेदवारी दर्ता गराएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपाने छिन् । समर्थकमा नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामी रहेका छन् ।
कांग्रेसकी उमेदवार पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् । पुडासैनी गएको माघमा भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
राष्ट्रियसभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६,एमालेका १०,एकीकृत समाजवादीका ८,जसपाका ३,जनमोर्चा, लोसपा, मनोनीत गरी १, १ सांसदले मत हाल्नेछन्।