काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला जाँदैछन ।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफू त्यहाँ जान लागेको उल्लेख गरेका छन ।
‘आज म ताप्लेजुङस्थित ओलाङचुङगोला जाँदै छु । ओलाङचुङगोला समुद्री सतहबाट ५२०० मिटर उचाइमा छ । यो तस्वीर ओलाङचुङगोला नजिकैको गोला गाउँको हो । ३२०० मिटर उचाइमा रहेको यो शेर्पा बस्तीभन्दा माथि मानव बसोवास छैन । यहाँ धुपीसल्ला, लालीगुराँस, चिमल, भोजपत्र, सुनपातीजस्ता वनस्पति र चित्तल, घोरल, कस्तुरी, हिम चितुवा लगायत जीवहरु छन् । त्यहाँबाट फर्केपछि म तपाईंहरुलाई आफ्नो अनुभूति पनि बताउने छु ।’ अध्यक्ष ओलीले भनेका छन ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेतीसहित उनी त्यसतर्फ जान लागेको हो ।
अध्यक्ष ओलीले त्यहाँका स्थानीयहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी दिईएको छ ।
चीनसँगको सिमाना ओलाङचुङगोला नाका अहिले बन्द रहेको छ । अध्यक्ष ओलीसँग स्थानीय बासिन्दाले चीनकोसँगको नाका खोल्न माग गर्ने तयारी गरेको जनाईएको छ ।