काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आगामी चुनावसम्म सरकार चल्ने दाबी गरेका छन् । मंगलबार नेपाल उद्योग परिसङ्घको २१औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले अर्को चुनावसम्म सरकार परिवर्तन नहुने दाबी गरेका हुन् ।
‘पछिल्लो चुनाव सकिएयता मैले ३ पटक विश्वासको मत लिइसकेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अझै म नै प्रधानमन्त्री छु ।’ उनले सञ्चार माध्यममा आउने समाचारबाट सरकार फेरिने निष्कर्ष ननिकाल्न आगह समेत गरे ।
यस्तै सरकारमा रहेका मन्त्री फेरिनुलाई अस्थिरता नभन्न निजी क्षेत्रलाई प्रधानमन्त्रीले अनुरोध गरे । उनले भने, ‘सरकार सम्हालेदेखि नै देशको अर्थतन्त्र सुधार गर्न पहल गरिराखेको छु ।’ देशको अर्थतन्त्र र आउँदो लगानी सम्मेलनलाई केन्द्रमा राखेर आफूले काम गरिरहेको दाबी प्रधानमन्त्रीको भनाई छ ।
प्रधानमन्त्रीले यही वैशाख १६ र १७ मा हुने लगानी सम्मेलन अघि नै एक दर्जन कानुनी व्यवस्था बदल्न लागि परेको जानकारी दिए । उद्योग र व्यवसायमा लगानीको वातावरण सुधार गर्नलाई बाधक बनेका दर्जन कानुनी व्यवस्था फेर्न सरकार जिम्मेवार भएर लागिपरेको जनाए ।
यस्तै सरकार ओउरगठन भएपछि सरकारको काम गर्ने तीव्रता झनै बढेको उनको भनाई छ । यसबाहेक आगामी बजेटबाट देशमा नयाँ उत्साह आउने गरेर नीति ल्याउने उनले जानकारी दिए । ‘बजेटमा जनताले बुझ्ने गरेर र काम गर्न सक्ने गरेर नीति कार्यक्रम बन्छ,’ उनले भने, ‘बजेटले बोक्न सक्ने गरेर मात्रै नीति कार्यक्रम ल्याइन्छ ।’
विगतमा जस्तो नीति कार्यक्रमले लिएको लक्ष्यलाई बजेटले नचिन्ने अवस्था यो वर्षदेखि हट्ने छ । अर्थतन्त्रमा सुधार गर्दै गुणात्मक परिवर्तन आवश्यक रहेकाले निजी क्षेत्रसँग समन्वय गरी अगाडि बढाउने प्रधानमन्त्रीले जनाए । यस्तै आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि निजी क्षेत्रसँग नजिक रहने उनले जानकारी दिए ।