काठमाडौं । नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने बैठक वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा चल्नेछ ।
बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने जानकारी दिईएको छ ।
बैठकमा पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने एमाले महासचिव शंकर पोखरेले जानकारी दिए।
बैठकले पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गर्ने महासचिव पोखरेलले जनाए ।
बैठकमा मिसन ग्रासरुट संगठन सुदृढीकरण अभियान र समृद्धिका लागि संकल्प यात्राका रुपमा गरिएको झुलाघाट चिवाभञ्ज्याङ यात्राको समीक्षा हुने उनले जानकारी दिए ।
यसैगरी, आगामी दिनमा वार्षिक कार्ययोजनाहरूलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा पनि बैठकमा समीक्षा हुने महासचिव पोखरेलले जानकारी दिए ।
परिषद् बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महासचिव पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने जनाईएको छ । बैठकमा केन्द्रीय निकायहरू क्रमशः केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदनहरू प्रस्तुत हुनेछन् ।
बैठकमा २०८१ साललाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्य योजना प्रस्तुत गरिने छ ।
साथै, एमालेले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्ष (हिरक महोत्सव) का उपलक्ष्यमा यही वैशाख १० गते एक विशेष समारोहको आयोजना गरेको छ । समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
हिरक महोत्सवमा एक जना विशिष्ट व्यक्तिलाई गणतन्त्र गौरव सम्मान प्रदान गरिने एमालेले जानकारी दिएको छ ।