इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने चेतावनी दिएका छन्।
इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा आयोजित चुनावी सभालाई शनिबार सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो कोहीलाई कडा कारबाही गरिने जानकारी दिए।
उनले पैसा बाँड्न आउनेको फोटो खिचेर पठाए २४ घण्टा भित्र कारबाही गर्ने जनाए। ‘मौन अवधिमा धेरै पैसाको चलखेल हुन्छ। यदि कसैले पैसा दिन खोज्यो भने फोटो खिचेर गृह मन्त्रालयमा पठाइदिनुहोला,’ उनले भने, ‘२४ घण्टा भित्र त्यसलाई कारबाही गर्छौं।’
गृहमन्त्री लामिछानेले गाउँगाउँमा पैसा बाँड्दै हिँडेर इलामको भविष्य किन्न खोज्नेलाई सार्वजनिक गरेर आम नागरिकसामु चिनाउने जनाए। ‘सुरक्षाकर्मी साथीहरू यही हुनुहुन्छ। चोकचोकमा खटिएर नागरिकलाई सचेत गराउनुहोला। पैसाको पोको बोकेर गाउँ छिर्नेलाई त्यही पोकोमा पोको पारेर हिरासतमा पठाइदिनुहोला,’ उनले सुरुक्षाकर्मीलाई निर्देशन दिँदै भने।
लामिछानेले आफ्नो पार्टीको उम्मेदवार जिताउन मात्रै इलाम नआएको उल्लेख गर्दै इलामलाई जिताउन र आम इलामेली नागरिकलाई जिताउन चुनावी घरदैलोमा आएको जानकारी दिए।
रास्वपाले इलाम २ मा पत्रकार मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ। रास्वपाको टोली अहिले चुनावी घरदैलोमा छ। यही वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ।