काठमाडौं । नेपालमा लोकतन्त्र स्थापना भएको १८औँ वर्ष पूरा भएको छ । लोकतन्त्र स्थापनाको दिनलाई आधार मानेर हरेक वर्ष लोकतन्त्र दिवस मनाउने गरिएको छ । मंगलबार १८औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहाँनियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागीतामा २०६२, ६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि आजकै दिन निरंकुश राजतन्त्र ुसमाप्त भएको थियो ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधि सभाको पुनःस्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गररेका थिए । सोही घोषणाअनुसार पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो ।
२०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०६३ वैशाख ११ गते पुनस्थापित भएपछि विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । ०६२, ०६३ को जनआन्दोलनले बनाएको मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्थापितको घोषणा गरी बैठकसमेत आह्वान गरेका थिए । त्यही घोषणालाई आधार मान्दै लोकतन्त्र दिवस मनाउन थालिएको हो । त्यसैको जगमा संविधानसभाको गठन भई नयाँ संविधान जारी भएर मुलुक यहाँसम्म अघि बढेको हो ।
सुरुवातमा लोकतन्त्र दिवसमा सरकारले सार्वजनिक विदा नै दिने गरेको थियो भने विशेष उत्सवकारुपमा मनाउने गरिएको थियो । तर पछि गणतन्त्र दिवसलाई विशेषरुपमा मनाउने अभ्यास सुरु भएपछि लोकतन्त्र दिवस ओझेलमा पर्यो । यो वर्ष भने कतारी अमिरको नेपाल भ्रमणका कारण सरकारले मंगलबार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।