काठमाडौं । नेपाली काँग्रेसका नेता आफ्ताब आलमलाई जन्मकैदको सजाय सुनाइएको छ ।
आज रौतहट जिल्ला अदालतले आलमलाई जन्मकैदको फैसला सुनाएको हो। न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले दुईजनालाई जिउँदै इँटा भट्टामा हालेर ज्यान लिएको आरोपमा दोषी ठहर गर्दै सजाय सुनाएको हो। २०६४ चैत २७ गते संविधानसभाको चुनावलाई प्रभावित पार्न रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवारसमेत रहेका आलमको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो।
विस्फोटमा घाइते भएका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ घाइतेलाई आलमले पोल खुल्ने डरले जिउँदै भट्टामा हालेर हत्या गरेका थिए । घटनामा पिन्टु र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जलाएर मारेको प्रहरीको दाबी छ । उनले चुनावलाई प्रभावित बनाएर विजयी बन्ने रणनीतिका साथ भारतबाटसमेत बम बनाउने मान्छेलाई ल्याएका थिए ।
आलमसहित ११ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रौतहटले विस्फोटक पदार्थ ऐन, २०१८, मुलुकी अपराधसंहिताको दफा (१७७) अन्तर्गत ज्यानसम्बन्धी कसूर (ज्यान मार्ने उद्योग) मा जन्मकैदको माग गर्दै मुद्दा दायर गरेको थियो।