रसुवा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले
मुलुकको समृद्धिका लागि एमाले सरकार आवश्यक रहेको ओलीको दाबी गरेका छन । आफूले सरकारको नेतृत्व गरेको समयमा थालेको अधुरा योजना पूरा गर्न अबको निर्वाचनमा एमालेले देशको नेतृत्व लिने र यसका लागि मिसन ८४ को अभियान सुरु भएको जानकारी दिए ।
गोसाइकुण्ड केबुलकार चल्छ र चलाउने जनाउँदै अध्यक्ष ओलीले टनेल तथा केरुङ काठमाण्डौ रक्सौल रेलमार्गको अवधारणा पूरा गर्ने जनाए ।
एमाले रसुवाको ९औं जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले स्थानीय सरकारले युवालाई अवसर प्रदान गर्नुपर्ने र युवाहरुलाई सामाजिक विकृति र विसंगती अन्त्य गरी सभ्य समाज निर्माणमा लाग्न अनुरोध गरे ।
कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती तथा एमाले नेताहरु सहभागी थिए । अध्यक्ष ओली तथा रक्षामन्त्री उप्रेतीले धार्मिक पर्यटकीय क्षेत्र गोसाइकुण्डको भ्रमण सकेर अधिवेशन उद्घाटन गरेका थिए । अध्यक्ष ओलीलाई स्थानीयसहित पार्टीका नेताकार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
अधिवेशनमा पार्टीमा योगदान गर्ने नेता तथा कार्यकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा पाँचवटै गाउँपालिकाबाट साँस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।
जिल्ला उपाध्यक्ष तथा अधिवेशन प्रचार प्रसार कमिटीका संयोजक डिल्ली सुवेदीका अनुसार गत १५ गते जिल्लाभरका वडा कमिटी र जनवर्गीय संगठनबाट अधिवेशन प्रतिनिधि छानिएका थिए । जिल्लाभर कुल ३ हजार १ सय ९ जना सदस्य रहेका छन् । पाँचवटै पालिकाको भूगोल १० जना सदस्य बराबर १ जना, दलित ७ सदस्य बराबर १ जना, युवा १० प्रतिशत, महिला ३३ प्रतिशत गरी अधिवेशनमा ३ सय ९० जना प्रतिनिधि मतदाता सहभागी भएको जिल्ला सचिव जनार्दन ढकालले जानकारी दिए ।
बन्द सत्र भने भोलि मात्र सुरु हुने जनाईएको छ ।