काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले उठाएको मागमा आफू सकारात्मक रहेको जानकारी दिएका छन् । कांग्रेसका नेताहरू महामन्त्री गगन थापा तथा प्रमुख सचेतक रमेश लेखकसँग आज बिहान भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले समस्याको समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।
प्रमुख सचेतक लेखकका अनुसार छलफलमा प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद् बैठकमा अवरोध नगर्दिन कांग्रेस नेताहरूसँग अनुरोध गरेका थिए । प्रधानमन्त्री प्रचण्डले कांग्रेसले उठाइरहेको माग आफूलाई सम्बोधन गर्नुपर्ने विषय भएको भन्ने लागिरहेको र समस्याको समाधान हुने गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गरेको जनाईएको छ ।
बैठकमा कांग्रेसले भने अहिले संसदीय दलको बैठक रहेको र बैठकमा प्रधानमन्त्रीको प्रतिबद्धताबारे छलफल गर्ने जनाएको थियो । बैठकले जे निर्णय गर्छ त्यही निर्णय सार्वजनिक गर्ने आफूले प्रधानमन्त्रीलाई जानकारी गराएको लेखकले जनाएका छन ।
सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।