छानबिन समिति गठन नहुँदासम्म संसद् चल्न नदिने कांग्रेसको अडान

काठमाण्डौं । राष्ट्रपतिलाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध नगरेको नेपाली कांग्रेसले अब संसद्मा कुनै सरकारी कार्यसूची प्रवेश गर्न नदिने जानकारी दिएको छ । मंगलवार सरकारका नीति तथा कार्यक्रमपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नसक्ने जानकारी दिएका हुन् ।
‘प्रधानमन्त्रीको आग्रहमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएका हौं । संसदीय छानबिन समिति नबन्दासम्म अब कुनै सरकारी प्रस्तावमा हामी प्रवेश गर्न दिँदैनौं,’ लेखकले भने, ‘संसद् अवरोध गछौं । सरकारी कार्यसूचीमा प्रवेश गर्न दिँदैनौ ।’
सहकारी ठगीमा जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको मागसहित कांग्रेसले वैशाख २८ गते संसद् अवरोध गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहपछि राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका नीति तथा कार्यक्रम पेश गर्न दिएको थियो ।
कांग्रेसको अवरोधपछि वैशाख २८ गते स्थगित प्रतिनिधिसभा बैठक मंगलवार साँझ ६ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिले वाचन गरेको सरकारका नीति तथा कार्यक्रम टेबल गर्ने र धन्यवाद प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
कांग्रेसले संसद् अवरोध गरेमा प्रधानमन्त्रीले प्रस्ताव पेश गर्ने कार्यसूची प्रभावित हुनेछ । राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गर्ने कांग्रेसको तयारी छ ।
रविमाथि छानबिनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको हिउँदे अधिवशेनमा पनि विरोध गरेको थियो ।

LEAVE A REPLY