काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार गएका छन् । शनिबार बिहान प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र रमेश लेखक बालुवाटार पुगेका हुन् ।
उनीहरू बिहान ९ बजे बालुवाटार पुगेको कांग्रेस महामन्त्री गगन थापाको सचिवालयले जानकारी दिएको छ ।
कांग्रेसको अडानबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई बालुवाटार बोलाएका हुन् । यसअघि हिजै तय भएको छलफल अन्तिम समयमा आएर स्थगित भएको थियो ।
सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । माग पूरा नभएसम्म संसद् चलन् नदिने कांग्रेसको अडान छ ।