आज वार्म अप खेलमा नेपाल र अमेरिका भिड्दै

काठमाडौं । नेपालले टी २० विश्वकपअघि आज अमेरिकाविरुद्ध वार्म अप खेल खेल्दै छ ।
डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि सुरु हुने छ । यो खेल मौसमले प्रभावित गर्न सक्नेसमेत अनुमान गरिएको छ ।
नेपालले यसअघि क्यानडाविरुद्ध खेलेको वार्म अप खेलमा ६३ रनको हार बेहोरेको थियो । आइसीसी वरियतामा नेपाल १७औं स्थानमा छ भने अमेरिका १९औं स्थानमा रहेको छ ।
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी २० विश्वकपमा नेपाल समूह ‘डी’मा रहेको छ । यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।
विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

LEAVE A REPLY