काठमाण्डौं । मधेश सरकारले आर्थिक वर्ष २०८१्, ८२ को नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ ।
मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रमले कृषि, शिक्षा, स्वास्थ्य, सडक, खेलकुद, पर्यटन आदि क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
जसअनुसार मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिवृद्धि, गरिबी न्यूनीकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्राथमिकतामा राखिएको छ ।
मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम, घुमौ मधेश बुझौ मधेश भन्ने मूल नाराका साथ पर्यटन वर्ष, अटोमेटिक ट्रायल सेन्टर स्थापना, एक क्षेत्र एक पक्की पूलको नयाँ कार्यक्रम पनि घोषणा गरिएको छ ।
प्रदेशको तथ्याङ्कलाई प्रभावकारी बनाउन आफ्नै डिजिटल बैंकको स्थापना गर्ने, दिगो विकासको योजना तयार गरी स्वदेशी तथा विदेशी लगानीको वातावरणको तयार गर्ने, भष्टाचार नियन्त्रण, विभेदको अन्त्य, आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने प्रवृत्तिलाई न्यूनीकरण गरिने नीति सरकारले लिएको छ ।
प्रदेश सरकारले सञ्चार क्षेत्र र पत्रकार हितको कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले प्रदेशलाई संचारमैत्री प्रदेश बनाउने नीति लिएको छ । समानुपातिक विज्ञापन, सामुदायिक रेडियो सञ्जाल निर्माण गरी रेडियोकर्मीहरूलाई दक्षता प्रदान गर्नुको साथै पत्रकारका लागि स्वास्थ्य बीमा र दुर्घटना बीमाको व्यवस्था गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
हरेक पालिका एक एग्रोभेट, करोड़ वृक्षारोपण अभियान, मधेश स्वयंसेवक कोर, चुरे संरक्षण तथा पानी रिचार्ज, मधेश प्रिमियर लिग, मधेश इतिहास पार्क, मधेश लगानी सम्मेलन, मधेश वैदेशिक रोजगार प्रशिक्षण कार्यक्रम, मधेश वैदेशिक रोजगार उद्धार केन्द्र, स्किल टेस्ट सेण्टर, प्रादेशिक कृषि औजार केन्द्र, मधेश स्टार्ट अप र इन्नोभेसन सेन्टर, टिच फर मधेश, हरेक ४ बिघामा १ बोरिङ कार्यक्रम, मधेश आईटी पार्क निर्माण गर्ने सरकारको नयाँ कार्यक्रम छ ।
यस्तै प्रशासनिक सुधार र सुशासन, लागू पदार्थ विरुद्ध सचेतना कार्यक्रम, मुख्यमन्त्री सुशासन अनुसन्धान फेलोसिप कार्यक्रम, भिजिट मधेश पर्यटन कार्यक्रम, मुख्यमन्त्री प्राकृतिक विपद बीमा कार्यक्रम र एक पालिका एक कृषि लाइब्रेरी नीति तथा कार्यक्रम रहेको छ ।














