काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेगरी आह्वान गरिएको छ ।
प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । सभामुखले विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८’ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ । मन्त्री तामाङले नै ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१’ पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
दिउँसो बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रको व्यहोरा जानकारी गराउने, राष्ट्रिय सभाका सचिवले ‘विनियोजन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यस्तै, अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गर्ने र उक्त विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले कार्यसूची राखेको छ ।