काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले आइतबार (साउन ६ गते) विश्वासको मत लिने जानकारी दिए ।
विश्वासको मत लिनु अगाडि देशबासीका नाममा सम्बोधन गर्ने र त्यसपछि विश्वासको मत लिने कार्यक्रम तय भएको छ । संविधानतः प्रधानमन्त्री नियुक्ति भइसकेपछि ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था भए पनि तुरुन्तै संसदको विश्वास लिएर काम अघि बढाउन सहजता हुन्छ भनेर ६ साउन मै विश्वासको मत लिने तयारी गरिएको एमालेका नेताहरूले जानकारी दिएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापित गर्दै ओली ३० असारमा ओली प्रधानमन्त्री बनेका थिए । संविधानको धारा ७६ को उपधारा (२) अन्तर्गत प्रधानमन्त्री बनेका ओलीसँग प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टीलगायतका पार्टी छन् ।
ओलीसँग सहज बहुमत रहेकाले विशवासको मतमा कुनै अफ्टेरो नपर्ने कांग्रेस र एमालेका नेताहरूले जनाएका छन । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । कांग्रेस र एमालेका मत मात्रै जोड्दा पनि १६७ मत हुन्छ ।