सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा उहाँको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ स्थित एमाले मोडमा दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज भेरी अस्पतालमा लगिएको थियो ।
सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाले दिएको जानकारीअनुसार उपचारकै क्रममा राति दुई बजे कार्कीको निधन भएको हो ।
कार्की नेकपा (माओवादी केन्द्र) को तर्फबाट सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।