देउवाको निवास अगाडि फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारियो

धनगढी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराकाअनुसार धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको थियो । प्रहरीले यसबारे बिहान १ बजे जानकारी पाएको थियो ।
घटनाको जानकारी पाएपछि नेपाल प्रहरी र नेपाली सेनाका दुई टोली तत्काल घटनास्थलमा पुगेका थिए । बिहान ५ बजे पुगेको नेपाली सेनाको टोलीले शंकास्पद वस्तु निष्क्रिय पारेको बोहराले जानकारी दिए ।
शंकास्पद वस्तुको झोला भित्र चिया पकाउने विद्युतीय भाँडो र त्यस भाँडो भित्र माटो भरेर राखिएको पाइएको छ । प्रहरीले यसलाई त्रास फैलाउने र चेतावनी दिने उद्देश्यले राखिएको अनुमान गरेको छ ।
प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

LEAVE A REPLY