काठमाण्डौं । सञ्चारकर्मी विद्या चापागाईंको युट्यूब सिरज ‘हेर्ने कथा’ को सहयोगमा ३५ वर्षपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका प्रकाश तामाङ (काले मोक्तान) लाई नागरिकता दिन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले गृहसचिव एकनारायण अर्याललाई बोलाएर तामाङलाई नागरिकताका लागि सहजिकरण गर्न निर्देशन दिएका हुन् ।
‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । राति १० बजे गृहसचिव एकनारायण अर्याललाई बोलाएर दुई–चार दिन भित्रमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ’, प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।
नागरिकता भए प्रकाशको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने भएकाले पनि यो आवश्यकता पूरा गर्नुपर्ने उनले लेखेका छन् ।
प्रधानमन्त्री ओलीले नागरिकता प्राप्तगरिसकेपछि प्रकाशलाई सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने पनि वचन दिएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शुभ बिहानी ११ हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथी मार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन। पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो। नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ। नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई÷चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’