काठमाडौं । नेकपा (एमाले) ले पोलिटव्यूरो बैठक बोलाएको छ ।
आज बसेको सचिवालय बैठकले आगामी भदौ १८ र १९ गते बस्नेगरी पोलिटव्यूरो बैठक बोलाएको हो । पोलिटब्यूरो बैठकमा वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने जनाईएको छ ।
पोलिटब्युरो बैठकले आज सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई अन्तिम रूप दिनेछ। बैठकमा पार्टीको वार्षिक कार्ययोजना मस्यौदा प्रस्तुत गरिएको र प्राप्त सुझावलाई पोलिटब्युरोबाट अन्तिम रूप दिने निर्णय गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उपमहासचिव ज्ञवालीले बैठकले सदस्यता बिस्तार अभिलेखीकरण र नवीकरणको कामलाई प्रभावकारी बनाउनेबारे छलफल गरेको जनाए ।
उनले ११ जिल्लामा बाँकी अधिवेशनको आयोजना गर्ने र तिनीहरूलाई अझ व्यवस्थित गर्नेबारेमा पनि छलफल भएको जानकारी दिए। पार्टी प्रवेश र जिम्मेवारी विहीन अवस्थामा रहेकालाई तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने निर्णय भएको उपमहासचिव ज्ञवालीले जनाए।