काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार) मुद्दाको सुनुवाइका लागि आजलाई पेसी छ। काठमाडौं जिल्ला अदालतमा १ वर्षदेखि विचाराधीन रहेको मुद्दामा फैसलाका लागि पटक पटक पेसी तोकिँदै आए पनि अदालतले निर्णय सुनाउन सकेको छैन।
लामिछानेविरुद्धको मुद्दामा यसअघि गत २४ गते पेसी थियो। उक्त दिन लामिछानेका वकिलकै तर्फबाट मुद्दा स्थगित भएको थियो। यो मुद्दामा हालसम्म ३२ पटक पेसी तोकिएकामा ८ पटक स्थगन मात्रै भएको छ।
मंसिर २४ गते, आइतबार पेसी तोकिएको दिन लामिछानेका तर्फबाट बहस गर्ने वरिष्ठ कानून व्यवसायी अदालतमा उपस्थित हुन नसकेकाले सुनुवाइ स्थगन गर्न माग गरिएको थियो। त्यसपछि इजलासले मुद्दा स्थगन गरिएको जनाएको थियो।
१ वर्षभन्दा बढी समयदेखि विचाराधीन उक्त मुद्दाको सन्दर्भमा सर्वोच्च अदालतले ‘फास्ट ट्र्याक’बाट छिनोफानो गर्न आदेश समेत दिएको छ। यसअघि गत कात्तिक २३ गते भएको सुनुवाइमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट पेस गर्न आदेश दिएको थियो।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछाने विरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।
१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी) माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ। सन्दीप विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ।
उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सन्दीप विरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको हो।
१७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक पटक बलात्कार गरेको भन्दै गत वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन्।
पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको जनाएकी थिइन्।
पीडित किशोरीको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी अभियोगपत्रमा गरिएको छ।
सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीको बयान छ। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँचसमेत गराएको थियो।
पीडित भनिएकी किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत नजिकिएका थिए। स्न्याप च्याटमार्फत चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको जनाईएको छ।
सन्दीपविरुद्धको मुद्दामा आजलाई पेसी
लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए, शपथ आज
तुलसीपुर । लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गरेका हुन् । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको हो ।
नयाँ मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र) बाट कृष्ण केसी खानेपानी, ग्रामीण तथा सहकारी विकास र कांग्रेसका सरोज थापाले पर्यटन तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी पाएका छन् ।
आज उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको जनाईएको छ ।
आज राष्ट्रपति पौडेल विराटनगर जाने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर जाँदै छन्।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गरेको प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रपति बिहान ११ वजे विराटनगर पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ।
विराटनगरस्थित होटल सिटी व्यालेसमा केही समय भेटघाट गर्ने कार्यसूचीसमेत रहेको छ। यस्तै कार्यक्रम समापनपछि आजै पौडेल काठमाडौं फर्किनेछन्।
आजदेखि नारायणगढ – मुग्लिन सडक चार घण्टा बन्द हुने
चितवन । नारायणगढ मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ ।
भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् ।
नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र चलाउन पाइने छ ।
काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०ः५५ सम्म तथा मालवाहक सवारी सधान १०ः४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले जनाए ।
यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०ः५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०ः४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ ।
पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ । गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । बिस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको आचार्यले जानकारी दिए।
साठी मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको आचार्यले जानकारी दिनुभयो । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । ट्राफिक जाम हुन सक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ ।
ओलीले पुस ८ गते विशेष पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुस ८ गते आइतबार विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पुस ८ गते दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरिने जानकारी दिए ।
पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले बैतडीको झुलाघाटदेखि पाँचथरको झुलाभञ्ज्याङसम्म गरिएको ‘सम्मृद्धिका लागि संकल्प यात्रा’ का क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशका बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने जनाईएको छ ।
सहकारी ठगी प्रकरणमा कुश्माका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी
पोखरा । मित्रमिल बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
पोखरामा रहेको यस सहकारीले बचतकर्ताको करोडौँ रुपैयाँ अपचलन गरेको आरोप छ । सहकारीबाट ठगिएको भन्दा ७४४ जना बचतकर्ताले रकम फिर्ताका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उजुरीमा २० करोडभन्दा बढी रकम बचतकर्ताले फिर्ता पाउनुपर्ने उल्लेख छ ।
ठगी प्रकरणमा अहिलेसम्म ३१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तर, पाँच जनामात्रै पक्राउ परेका छन् ।
स्रोतका अनुसार आफूविरुद्ध पक्राउ पुर्जी जारी हुने संकेत पाउनासाथ प्रमुख प्रशासकीय अधिकृत पराजुली बिदामा बसेका थिए । जिल्ला अदालत कास्कीले पक्राउ गर्न अनुमति दिएपछि कास्की प्रहरीले पर्वत प्रहरीलाई पत्र लेख्दै पराजुलीलाई उपस्थित गराउन समन्वय गर्न भनेको थियो । बिदा लिएर काठमाडौं गएका पराजुली त्यहाँ नरहेको भन्दै पर्वत प्रहरीले जवाफ पठाएको थियो ।
उनी सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा तत्कालीन समयमा रजिस्ट्रार थिए । कार्यक्षेत्र विस्तारको विषयलाई लिएर उनले करोडौँ रकम घुस लिएको आरोप छ ।
नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा तिलकराज पाण्डेय
काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओ पदमा नियुक्त गरेको हो ।
सीईओ छनोटका लागि परेको आवेदनमध्येबाट पाण्डेसहित पाँच जनाको नाम सर्ट लिस्टमा परेको थियो । सो सर्ट लिस्टबाट समेत समितिले तीन जनाको नाम सिफारिस गरेकोमा बैंक सञ्चालक समितिले पाण्डेलाई सीईओ नियुक्त गरेको हो ।
पाण्डेसहित नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलको नाम अन्तिम तीनमा परेको थियो ।
नवनियुक्त सीईओ पाण्डे तत्कालीन भिवोर विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मार्फत बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका पाण्डेसँग नेपाल राष्ट्र बैंक र अन्य २० वटाको संयुक्त लगानीमा खोलिएको नेशनल बैंकिङ इन्स्टिच्यूटमा एकेडेमिकमा डाइरेक्टरको भूमिकामा रहेर काम गरिसकेको अनुभव छ ।
पर्यटनमन्त्री किरातीको राजीनामा माग्दै राप्रपाले गर्यो प्रदर्शन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ । धर्मबारे मन्त्री किरातीले दिएको अभिव्यक्ति ुगैरजिम्मेवार र गैरसंवैधानिकु रहेको भन्दै राप्रपा काठमाडौं क्षेत्र नम्बर ४ ले शुक्रबार काठमाडौंको गौशालामा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले ुसुदन किराती राजीनामा गर, गणतन्त्र खारेज गर, राजसंस्था कायम गरुसहितका नारा लगाएका थिए ।
प्रदर्शनका क्रममा राप्रपा काठमाडौंका अध्यक्ष नवराज सिंखडाले मन्त्री किरातीको अभिव्यक्ति ८१ प्रतिशत हिन्दुको भावनाविपरीत रहेको टिप्पणी गरे । राजासहितको प्रजातन्त्र हिन्दुराष्ट्र र संघीयताको खारेजको मागसहित राप्रपाले आन्दोलन गर्ने उनको भनाइ छ ।
गएको बुधबार मन्त्री किरातीले क्रिस्चियनलाई नमान्नेहरू संविधान विरोधी भएको र उनीहरूलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएपछि विवादित बनेका छन् ।
मुक्तिनाथ विकास बैंकले घोषणा गर्यो १०.२६ प्रतिशत लाभांश
काठमाडौं । मुक्तिनाथ विकास बैंकले १०.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९, ८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ९.७५ बोनस शेयर र कर प्रयोजनका लागि ०.५१३२ नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव डण्डपानी ढकालले जनाएका छन् ।
सञ्चालक समितिको प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी १७औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश पाउने छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ६ अर्ब ४२ करोड २ सय ७२.५१ रुपियाँ छ ।
कृषि विकास बैंकको संचालकमा महेश आचार्य
काठमाडौं । कृषि बिकास बैंक संचालक समितिको संचालक सदस्यमा महेश आचार्य मनोनयन भएका छन् ।
सञ्चालक आचार्य सरकारी सेवाको लामो अनुभव भएका साथै हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत छन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक आचार्यलाई बैंक संचालक समिति अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका हुन् ।
उक्त अवसरमा बैंकका संचालक सदस्यहरु डा. राजेन्द्रप्रसाद मिश्र, गोविन्द भट्टराई, संजिव पौडेल, विनोदकुमार गुरांगाई, रिता सुवेदी सीईओ गोविन्द गुरुङ्ग र कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिती थियो ।