सहकारी ठगी प्रकरणमा कुश्माका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

पोखरा । मित्रमिल बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
पोखरामा रहेको यस सहकारीले बचतकर्ताको करोडौँ रुपैयाँ अपचलन गरेको आरोप छ । सहकारीबाट ठगिएको भन्दा ७४४ जना बचतकर्ताले रकम फिर्ताका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उजुरीमा २० करोडभन्दा बढी रकम बचतकर्ताले फिर्ता पाउनुपर्ने उल्लेख छ ।
ठगी प्रकरणमा अहिलेसम्म ३१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तर, पाँच जनामात्रै पक्राउ परेका छन् ।
स्रोतका अनुसार आफूविरुद्ध पक्राउ पुर्जी जारी हुने संकेत पाउनासाथ प्रमुख प्रशासकीय अधिकृत पराजुली बिदामा बसेका थिए । जिल्ला अदालत कास्कीले पक्राउ गर्न अनुमति दिएपछि कास्की प्रहरीले पर्वत प्रहरीलाई पत्र लेख्दै पराजुलीलाई उपस्थित गराउन समन्वय गर्न भनेको थियो । बिदा लिएर काठमाडौं गएका पराजुली त्यहाँ नरहेको भन्दै पर्वत प्रहरीले जवाफ पठाएको थियो ।
उनी सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा तत्कालीन समयमा रजिस्ट्रार थिए । कार्यक्षेत्र विस्तारको विषयलाई लिएर उनले करोडौँ रकम घुस लिएको आरोप छ ।

LEAVE A REPLY