काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।
आइतवार पर्न गएको तमु ल्होसारका अवसरमा शनिवार राति शुभकामना दिँदै उनले पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्दै पर्यटन प्रवद्र्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको जनाएका छन् ।
नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष शुरू भएको अवसरको रूपमा पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गर्दै हर्षोल्लासका साथ ल्होसार पर्व मनाउने गरेका छन् ।
ल्होसार पर्वका अवसरमा सरकारले आइतवार सार्वजनिक बिदा दिएको छ ।
तमु ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास
आज तमु ल्होसार मनाइँदै
काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ।
गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको विश्वास छ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जनाईन्छ ।
तमु ल्होसारको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा दिएको छ।
प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्रीले उक्त घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक चरणमा दोषी देखिएकालाई निलम्बन गरिसकिएको पीडित पक्षलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । उनले मृतकका परिवारलाई सरकारका तर्फबाट राहतको व्यवस्था गरिएको, घाइतेको उपचारको प्रबन्ध मिलाइएको जनाएका थिए । प्रधानमन्त्री दाहालले घटनाका सम्बन्धमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।
पीडित परिवारजनसँग प्रधानमन्त्री दाहालले शुक्रबार कार्यक्रमको सिलसिलामा दोलखामा रहेको र घटना थाहा पाउने बित्तिकै आफूले सम्बन्धित अधिकारीसँग जानकारी लिएको जनाएका थिए । उनले घटनाको अनुसन्धान प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै पीडितले न्याय पाउने विश्वास दिलाए । “छानबिनबाट सत्यतथ्य जे आउँछ, जो दोषी देखिन्छन् तिनलाई कारबाही हुन्छ, आगामी दिनमा यस्ता घटना हुँदैनन्”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।
आजै बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटनामा निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । सरकारका तर्फबाट मृतकका परिवारलाई प्रतिपरिवार रु दश लाख राहत उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।
सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाइसकेको छ । सो घटनामा गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको छ भने रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका प्रमुख निलम्बित भएका छन् ।
यस्तै गृह मन्त्रालयले पनि सो घटनाको निष्पक्ष छानबिनका लागि एक उच्चस्तरीय समिति गठन भई कार्यारम्भ गरिसकेको जनाएको छ । मन्त्रालयले समितिबाट प्राप्त हुने प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन गर्ने विश्वाससमेत दिलाएको छ ।
बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको मृत्यु भएको थियो ।
भेटमा पीडित परिवारजनले घटनाको सत्यतथ्य र निश्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । सो अवसरमा पीडित परिवारका साथै अछाम र दैलेख जिल्लाका संघीय सांसद्को पनि सहभागी थियो ।
ग्लोबल आइएमई बैंकद्वारा क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत गरिने कारोबारमा १७ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ ।
यस्तै १ हजार रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकलाई पुस १६ गतेदेखि माघ १७ गतेसम्मका लागि यो सुविधा उपलब्ध गराएको हो । बैंकको भिषा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मेसिनमार्फत गरिने १० वटासम्मको कारोबारमा २० हजार रुपैयाँभन्दा माथिको कारोबार रकममा १ हजार रुपैयाँको क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो ।
वार्षिकोत्सवकै अवसरमा ग्राहकहरुलाई थप छुट प्रदान पनि गर्ने योजना सार्वजनिक गरिएको छ । नयाँ खाता खोलेर ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकहरुले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलो पटकको क्यूआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो क्यासब्याक योजना पौष १७ गते देखि २३ गतेसम्म लागू हुनेछ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसुचकहरु अनुसार मुलुककै सबैभन्दा ठुलो बैंक वाणिज्य बैंक हो ।
देशका ७७ वटै जिल्लामा ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्कर बैदेशिक प्रतिनिधि कार्यालय सहित ११०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सव, सातै प्रदेशमा वृहत् प्रभातफेरि
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।
आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिको लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो ।
यही पुस १७ गतेदेखि ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १६ वर्ष पुरा भई १७औँ वर्षमा प्रवेश गर्दैछ ।
काठमाडौंमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्यहरु, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
वित्तीय साक्षरता तथा बैंकिङ शिक्षामूलक प्लाकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौंको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै शहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौं उपत्यका बाहिर मुख्यमुख्य शहरहरु परिक्रमा गरेका थिए ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसुचकहरु अनुसार मुलुककै सबैभन्दा ठुलो बैंक वाणिज्य बैंक हो ।
बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकमा करिब ४ हजार कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।
बाक्लो हुस्सुले तराईका विमानस्थलमा उडान प्रभावित
काठमाडौं । प्रतिकूल मौसमका कारण भैरहवासहित तराईका चार विमानस्थलको उडान प्रभावित भएको छ ।
तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कमजोर हुदाँ त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
विमानस्थलका प्रवक्ता सुवास झाले बाक्लो हुस्सु कुहिरोका कारण तराईका विमानस्थलहरु सिमरा, जनकपुर, भरतपुर र भैरहवाको उडान प्रभावित भएको हो ।
ती चार विमानस्थलमा आज पनि कुनै उडान भएनन् । भैरहवा विमानस्थलमा हिजो शुक्रबार पनि कुनै आन्तरिक उडान भएन ।
शुक्रबार नै प्रतिकूल मौसमका कारण धेरैजसो विमान कम्पनीले निर्धारित उडान रद्द गरेका थिए । विशेषगरी हिउँदमा तराईका विमानस्थलमा बाक्लो हुस्सु लाग्नाले आन्तरिक उडान प्रभावित हुने गरेको छ ।
ईपीएस कोरिया शाखाका प्रमुख निलम्बित
काठमाडौं । सरकारले ईपीएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ ।
शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
बैठकले सुवेदीसहित जिल्ला प्रहरी परिसर ललितपुरका अप्रेसन इन्चार्ज डीएसपी उमेश लम्साल र मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवारलाई पनि निलम्बन गर्ने निर्णय गरेको छ ।
राम्रो काम गर्न नसके प्रधानमन्त्रीलाई खुमलटार पठाउने गगनको चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्याउने चेतावनी दिएका छन्।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्। उनले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको जिकिर गरे।
महामन्त्री थापाले कांग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएको भन्दै कांग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने चेतावनी दिए। कांग्रेस नभए देश गृह युद्धमा फस्ने दाबी गर्दै नेता थापाले बालकुमारीमा बिहीवार भएको घटनाप्रति दुःख व्यक्त गरे।
उनले भने, ‘अहिले नेपाली कांग्रेस पार्टी छैन भन्ने कल्पना गर्नुभयो भने नेपाल कुनै न कुनै गृहयुद्धमा पर्छपर्छ। कि धार्मिक, कि जातिय, कुनै न कुनै अतिवादमा पर्छ। कांग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन । अहिले फेरि हामीले जिम्मा पाएका छौं। यो बेला हामीले काम गर्नुपर्छ। प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौं नि प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत कांग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि कांग्रेसको छ।’
बालकुमारी घटनाका मृतक परिवारलाई सरकारले १०, १० लाख दिने
काठमाण्डौ । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका २ युवकका परिवारलाई सरकारले १०, १० लाख रुपैयाँ राहत दिने भएको छ ।
शनिबार काठमाण्डौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मृतक परिवारलाई राहत दिने निर्णय गर्न आजै मन्त्रिपरिषद् बैठक बस्न लागेको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले घटनाबारे बिहान गठबन्धन दल, सरकारका मन्त्री र सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए ।
पानीजहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुत्तीर्ण भएका युवाले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको थियो ।
युक्रेनमा अहिलेसम्मकै ठूलो रुसी क्षेप्यास्त्र आक्रमण
किभ । युद्ध सुरु भएयता रुसले युक्रेनमा हालसम्मकै ठूलो क्षेप्यास्त्र आक्रमण गरेको छ । शुक्रबारदेखि सुरु गरेको आक्रमणमा परी कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ भने ८६ जना घाइते भएका छन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार रुसले युक्रेनमा कुल १२२ मिसाइल र २६ ड्रोनहरू प्रहार गरेको थियो, जसले युक्रेनमा ठूलो क्षति पुर्याएको छ। युक्रेनी वायुसेनाका एक अधिकारीले २२ महिना लामो युद्धमा यो नै रूसले गरेको सबैभन्दा ठूलो हवाई हमला भएको जनाएका छन ।
युक्रेनी सेना प्रमुख भ्यालेरी जालुज्नीले युक्रेनी वायुसेनाले आक्रमण गर्नुअघि ८७ मिसाइल र २७ प्रकारका ड्रोन खसालेको जनाए। वायुसेना कमाण्डर माइकोला ओलेशचुकले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा लेखेका छन यो फेब्रुअरी २०२२ मा रूसको पूर्ण स्तरीय आक्रमण पछिको सबैभन्दा ठूलो हवाई हमला हो।
युक्रेनी वायुसेनाका अनुसार यसअघिको सबैभन्दा ठूलो आक्रमण नोभेम्बर २०२२ मा भएको थियो, जब रुसले युक्रेनविरुद्ध ९६ वटा मिसाइल प्रहार गरेको थियो। यो वर्षकै सबैभन्दा ठूलो हमलाको कुरा गर्ने हो भने गत मार्च ९ मा रुसले युक्रेनका विभिन्न सहरमा जम्मा ८१ वटा मिसाइल प्रहार गरेको थियो ।
युक्रेनी अधिकारीहरूले देशका पश्चिमी सहयोगीहरूलाई शुक्रबारको जस्तै हवाई आक्रमणबाट आफूलाई बचाउन थप हवाई सुरक्षा उपलब्ध गराउन अनुरोध गरेका छन्। उनले आफ्ना पश्चिमी मित्र राष्ट्रहरुलाई पनि सहयोग जारी राख्नसमेत अनुरोध गरेका छन् ।
युक्रेनी अधिकारीहरूले लगभग १८ घण्टाको आक्रमणमा कम्तिमा ८६ जना घाइते भएका र अज्ञात संख्यामा मानिसहरू भग्नावशेष मुनि दबिएको र तिनीहरूलाई बाहिर निकाल्ने काम भइरहेको जनाए। युक्रेनमा क्षतिग्रस्त भवनहरूमा अस्पताल, अपार्टमेन्ट ब्लक र स्कूलहरू समावेश छन्।
यस भयानक आक्रमणको बारेमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोशल मिडिया प्लेटफर्म भने, शुक्रबार रूसले आफ्नो शस्त्रागारमा लगभग सबै प्रकारका हतियारहरू प्रयोग गरेको छ।’ उनका अनुसार क्रेमलिन (रुस) को सेनाले ब्यालिस्टिक र क्रूज मिसाइलसहित विभिन्न प्रकारका हतियारहरू प्रयोग गरेको छ।