काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पुर्याउने चेतावनी दिएका छन्।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्। उनले प्रधानमन्त्री दाहालले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको जिकिर गरे।
महामन्त्री थापाले कांग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएको भन्दै कांग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने चेतावनी दिए। कांग्रेस नभए देश गृह युद्धमा फस्ने दाबी गर्दै नेता थापाले बालकुमारीमा बिहीवार भएको घटनाप्रति दुःख व्यक्त गरे।
उनले भने, ‘अहिले नेपाली कांग्रेस पार्टी छैन भन्ने कल्पना गर्नुभयो भने नेपाल कुनै न कुनै गृहयुद्धमा पर्छपर्छ। कि धार्मिक, कि जातिय, कुनै न कुनै अतिवादमा पर्छ। कांग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन । अहिले फेरि हामीले जिम्मा पाएका छौं। यो बेला हामीले काम गर्नुपर्छ। प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौं नि प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत कांग्रेसको छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि कांग्रेसको छ।’