काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त पदमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त
गौशाला २६ को पहिचान सार्वजनिक गर्ने एकजना युवा पक्राउ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोप लगाउने किशोरी गौशाला २६ (परिवर्तित नाम) को पहिचान सार्वजनिक गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
किशोरीको तस्वीर, नाम, थर सार्वजनिक गर्ने सङ्खुवासभाका केशरमान राईलाई प्रहरीले पक्राउ गरेको हो ।
३२ वर्षीय केशरमानलाई सङ्खुवासभाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको प्रहरीले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जनाईएको छ ।
अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक सुरक्षाको प्रबन्ध गर्न आयोगको निर्देशन
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक सुरक्षाको प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले बुधवार एक विज्ञप्ति जारी गर्दै माघ ११ गते हुने निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै सुरक्षाको प्रबन्ध गर्न निर्देशन दिएको हो ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदान स्थललगायतको सुरक्षा प्रबन्ध गर्न आयोगले भनेको छ ।
यस्तै, आयोगले मतपत्र ढुवानी कार्ययोजना बमोजिम गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा प्रबन्ध, आवश्यक सुरक्षाको समुचित व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
यस्तै, प्रदेश राजधानी रहेका जिल्लाहरू क्रमशः मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलालीमा रहेका प्रदेश निर्वाचन कार्यालयहरूमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचनको कार्यमा खटिएका सम्पूर्ण जनशक्तिको सुरक्षा व्यवस्था मिलाउन पनि आयोगले सरकारलाई निर्देशन दिएको छ ।
बिहीवार प्रधानमन्त्री प्रचण्ड युगाण्डा जाँदै
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि (माघ ४ गते) युगान्डा गणतन्त्र प्रस्थान गर्दै छन ।
उनी बिहान २ः१५ बजे कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुँदैछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलनको सत्रलाई माघ ५ गते सम्बोधन रहेको छ । सोही दिन प्रधानमन्त्री दाहाल युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन्।
शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। यसअघि बुधबार र बिहीबार बस्ने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसकेकी छन् । मन्त्रीस्तरिय बैठक अघि माघ १ र २ गते वरिष्ठ अधिकारीहरूको बैठक बसेको थियो ।
शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८ औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने जनाईएको छ ।
नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे काठमाडौँ आइपुग्नेछन्।
१९ औँ नाम शिखर सम्मेलनपछि तेस्रो दक्षिण शिखर सम्मेलन माघ ७ देखि ८ गतेसम्म कम्पालामा हुँदैछ। दक्षिण शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव लम्सालले गर्नेछिन्।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । सञ्चालक समिति मंगलबारको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स गाभिएपछि उनलाई अध्यक्षमा चयन गरिएको हो । उनी दुई कम्पनी गाभिनु अघिसम्म प्रभु लाइफ इन्स्योरेन्सकी संस्थापक शेयरधनीतर्फबाट सञ्चालक थिइन् । अहिले उनलाई संस्थापक समूहबाट अध्यक्षमा चयन गगरिएको हो।
अध्यक्ष भट्टचन बिजनेश घराना प्रभु ग्रुपकी प्रबन्ध निर्देशक पनि हुन् । उनले अमेरिकाबाट साइबर सुरक्षा विषयमा स्नातोकोत्तर सकेकी छन् । भट्टचनले प्रभु ग्रुप इंक, अमेरिका, सिंगापुर, मलेसिया लगायतका ग्रुपको विभिन्न देशका लागि सिपिङ कम्पनीको नेतृत्व गरिसकेकी छिन् ।
उनी प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनकी छोरी हुन् । देवीप्रकाश अहिले नेकपा एमाले दलको तर्फबाट सांसद छन् ।
बोर्डले अध्यक्षको जिम्मेवारी भट्टचनलाई दिदै डिजिटल सुरक्षामा उनको भूमिका अहम रहने उल्लेख गरेको छ । उनीसहित इन्स्योरेन्सको सञ्चालकमा सम्झना अर्याल, विरेन्द्रजंग पाण्डे, सिए शंकर गौतम, ज्योती शेरचन र अन्जु अधिकारीलाई चयन गरेको छ ।
शेयर बजारमा १२.१० २२ अंकको गिरावट, पौने १० अर्बको कारोबार
काठमाडौं । निरन्तर बढिरहेको शेयर बजार आज दोहोरो अंकले ओरालो झरेको छ । आज नेप्से बढेर २२१५ अंकमा पुगे पनि बजार बन्द हुँदा घटेर बन्द भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.१० अंकले घटेको हो । ०.५५ प्रतिशतले बजार घट्दा नेप्से २१६३.०६ अंकमा ओर्लिएको छ ।
आज नेप्से तल झरे पनि कारोबार रकम भने बढेको छ । ३०० कम्पनीका ३ करोड ३५ लाख २५ हजार ७ सय २ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८ सय ६८.६१ रुपियाँ बराबरको कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि ग्लोबल आईएमई लघुवित्त, नेपाल वायरहाउजिङ, हिमालयन रि–इन्स्योरेन्स र गरिमा बैंकको ऋणपत्र २०८५ का लगानीकर्ताले क्रमशः १०, १०, ९.९९ र ९.८९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै इस्टर्न हाइड्रो, भूगोल इनर्जी र मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.९५ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज ‘हिमालयन रि’को उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६५ करोड ८४ लाख ९० हजार २ सय ८५.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ३१.६२ अंकले बढ्दा ५ अर्ब ४५ करोड रुपियाँ र हिजो मंगलबार ५४.५४ अंकले बजार बढ्दा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४ सय ६.६९ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने माघे संक्रान्तिको बिदाका कारण बजार बन्द रह्यो ।
तीन वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार आज बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै छ । बैठकमा सडक सुरक्षा र नागरिक अधिकारका सम्बन्धमा स्वतन्त्रता अभियान नेपालबाट भए गरेका काम कारवाहीका बारेमा छलफल हुने जानकारी दिईएको छ ।
त्यस्तै बिहान साढे १० बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कानुनी व्यवस्था (प्रत्यायोजित विधायन) र सरकारी आश्वासन सम्बन्धमा छलफल हुने जनाईएको छ ।
त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे विज्ञहरूसँग छलफल हुनेछ ।
मकवानपुरमा चिनियाँ नागरिक कुटिए
काठमाडौं । मकवानपुरमा चिनियाँ नागरिक कुटिएका छन । फास्ट ट्रयाकमा काम गरिरहेका चिनियाँ नागरिकलाई मकवानपुरका स्थानीयले कुटपिट गरेका हुन् ।
“चाइनिज क्याम्पमा कुकको काम गर्ने मकवानपुरगढी १ बस्ने फूलमाया लुङ्बालाई खाना बनाउने क्रममा फास्ट ट्रयाकमा काम गर्ने चिनियाँ नागरिक थान कार्ड युनले हातपात गर्न खोजेको भनि आफन्तलाई जानकारी गराएको पाइएको छ,” प्रहरीले भनेको छ, “त्यसपछि फूलमायाका आफन्त तथा स्थानीयले युनलाई कुटपिट गरी घाइते बनाएको खबर आएको थियो ।”
घाइतेलाई उपचारको लागि अर्थोपेडिक अस्पताल हेटौंडा पठाइएको र उनलाई बाहिरी चोट नरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
फूलमाया सामान्य घाइते भएको र उनी स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
रास्वपाको केन्द्रीय समिति बैठक आज ३ बजे बस्दै
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बुधबार बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल हुने महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
यस्तै, समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स सम्बन्धी अहिलेसम्म भएका अध्ययन, विभागहरूको रिपोर्ट लगायत विषय पनि छलफलका एजेण्डा छन् ।
बैठकमा दुईसाताअघि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा गरिएको नारायणगढ–बुटवल ११३ किलोमिटरको विकास आयोजना पदयात्राका विषयमा पनि छलफल हुने जनाईएको छ ।
सुर्खेतमा युवक मृत फेला, हत्याको आशंका
काठमाडौं । सुर्खेतमा एक युवक मृत फेला परेका छन् ।
पञ्चपुरी नगरपालिकामा सोही नगरपालिका वडा नम्बर ६ का १८ वर्षीय भरत बुढा मृत फेला परेका हुन्।
उनी घर नजिकै मृत फेला परेका हुन् । उनको हत्या भएको आशंका गरिएको छ ।
इलाका प्रहरी कार्यालय बाबियाचौरबाट र बाँकेको कोहलपुरबाट खाटिएको प्रहरी टोलीले तालिम प्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ ।

















