काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अनावश्यक नयाँ योजना नथप्ने, अधुरा पूराना योजनालाई उच्च प्राथमिकता दिने र प्रत्येक आर्थिक वर्षमा खास कुनै रणनीतिक योजनामा केन्द्रित हुनेगरी नीति, कार्यक्रम र बजेटको तयारी गर्न अर्थ मन्त्रालय र योजना आयोगलाई निर्देशन दिएका छन ।
यसअघि सरकारको नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचामा व्यापक रूपान्तरणको प्रतिबद्धता व्यक्त गरेअनुसार नीति, कार्यक्रम र बजेटको ढाँचा र प्रक्रियामा व्यापक परिमार्जन गर्नेगरी अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सोमबारछलफल गर्दै उक्त निर्देशन दिइएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ ।
आगामी आर्थिक वर्ष २०८०, ८१ को नीति कार्यक्रम र बजेट तयारीका लागि सोमबार बैठक डाकेका दाहालले बजेटको मन्त्रालयगत सिलिङ तोक्दा मन्त्रालयहरूबीच व्यापक छलफल जरूरी भएको जानकारी दिए । उनले. बजेटको सिलिङ तोक्ने प्रक्रियाबारे नै छुट्टै छलफल आवश्यक रहेको धारणा राखे ।
‘सिलिङ तोक्दा अनुमान र हचुवाको भरमा नतोकौं, मन्त्रालयहरूलाई पनि बोलाएर छलफल गरौं, उनीहरूको कुरा पनि सुनौं । यो लोकतान्त्रिक प्रक्रिया पनि हो । कुनस्तरका योजना केन्द्रमा राख्ने, कुन प्रदेश र स्थानीय तहमा पठाउने भन्नेबारे पनि प्रष्ट खाका चाहिन्छ । त्यसका लागि पनि आवश्यक तयारी गर्नुस्,’ दाहालले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नीति, कार्यक्रम र बजेटमा नयाँपन ल्याउन प्रधानमन्त्रीको सोच महत्वपूर्ण भएको जनाउँदै निर्देशन र सरकारको निर्णयबमोजिम मन्त्रालयले आवश्यक काम अगाडि बढाउने जनाए ।
यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले फागुनमा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने, वैशाखमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र जेठ १५ मा बजेट प्रस्तुत गर्नेगरि आयोगले नीति, कार्यक्रम र बजेटको प्रस्तावित कार्यतालिका निर्माण गरेको जानकारी दिए । आयोगका सदस्य डा. रामकुमार फुयालले भने प्रस्तावित कार्ययोजना कार्यान्वयनका निम्ति प्रचलित कानुनहरूमा संशोधन आवश्यक भएको धारणा राखे ।
मुख्यसचिव डा. बैकुण्ठ अर्यालले आयोगबाट प्रस्तावित कार्यतालिका वैज्ञानिक रहेको जनाउँदै सोहीअनुरूप कानुनी प्रबन्ध र व्यवहारिक गृहकार्य गर्नुपर्नेमा जोड दिए ।
हचुवाको भरमा बजेटको सिलिङ नतोक्न प्रधानमन्त्रीको निर्देशन
ग्लोबल आइएमई बैंकका धुलिखेल र मलंगवामा नयाँ शाखा
काठमाडौं। ग्लोबल आइएमई बैंकले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ। बैंकले सर्लाहीको मलंगवा र काभ्रेको धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यी दुई नयाँ शाखाहरुबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भइसकेको छ।
बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो। बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्करवैदेशिक प्रतिनिधि कार्यालयसहित ११ सय भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
महालक्ष्मी विकास बैंकको विभिन्न संघसंस्थालाई सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, सामाजिक र धार्मिक संस्थालाई सहयोग गरेको छ ।
यसैक्रममा बैंकको न्यूरोड शाखाद्वारा हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर प्रदान गरिएको छ । विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पुर्याउने हेतुले उक्त प्रिन्टर प्रदान गरिएको हो । न्यूरोड शाखाका प्रमुख कुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक हिरा मर्हजनलाई प्रिन्टर हस्तान्तरण गरेका थिए ।
त्यसैगरी बैंकको गोगंबु शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं २६ मा अवस्थित पवित्रनगर समाजलाई आर्थिक सहयोग प्रदान गरिएको छ । समाजको कार्यालय कक्षमा स्थापना गर्न लागिएको सार्वजनिक पुस्तकालयमा आवश्यक पुस्तक तथा अन्य सामाग्रि खरिद गर्नका लागि बैंकले उक्त सहयोग गरेको हो । गोगंबु शाखाका प्रमुख अमिता बगालेले पवित्रनगर समाज समितिका अध्यक्ष सूर्यमणि पौडेललाई तीस हजार रुपियाँ बराबरको चेक हस्तान्तरण गरेकी थिइन् ।
त्यस्तै बैकको बसुन्धरा शाखाद्वारा टोखा नगरपालिका वडा नं ०४ मा अवस्थित श्रीकृष्ण धार्मिक संघलाई २ थान उफर हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । श्रीकृष्ण मन्दिरमा नियमित रुपमा २ वटा हलमा भजन किर्तन गरिने गरेको तर आर्थिक अभावका कारण उफरको व्यवस्था गर्न नसकिएकाले बैंकले उक्त सहयोग प्रदान गरेको हो । बसुन्धरा शाखाका प्रमुख विकास देवकोटाले श्रीकृष्ण धार्मिक संघलाई उफर हस्तान्तरण गरेका हुन् ।
सिटिजन्स बैंकको सपनाको घरलाई साकार पार्ने योजना
काठमाडौं । सिटिजन्स बैंकले नयाँ योजना ल्याएको छ ।
बैंकले १०.९९ प्रतिशत स्थिर ब्याददरमा ‘सिटिजन्स होम लोन’ योजना ल्याएको हो ।
‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घरकर्जाले पार्नेछ साकार’ भन्ने उद्देश्यसहित योजना ल्याएको हो ।
कर्जा लिन चाहनेहरुले सिटिजन्स क्यूआर स्क्यान गरी अनलाइन मार्फतपनि आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ ।
निःशुल्क क्रेडिट कार्ड र डेबिट कार्ड सुबिधा तथा पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत छुटको सुबिधा रहेको बैंकले जनाएको छ ।
शेयर बजारमा ३६.५७ अंकको सुधार, साढे चार अर्ब बढीको कारोबार
काठमाडौं । शेयर बजार उच्च अंकले उचालिएको छ । बजार उचालिएसँगै कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३६.५७ अंकले बढेको हो । १.८० प्रतिशतले बजार उचालिंदा नेप्से २०५९.४९ अंकमा पुगेको छ ।
आज ३०९ कम्पनीका १ करोड ३७ लाख ९ हजार २ सय ७६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार ९ सय ६।२८ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन आज विभिन्न १५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । आजैबाट कारोबार शुरु भएको हिमालयन रि–इन्स्योरेन्सको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता रु। ३४०.१० पुगेको छ ।
सिंगटी हाइड्रो, मोदी इनर्जी, त्रिशुली जलविद्युत कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो ।
नेपाल वायरहाउजिङ, तेह्रथुम पावर, समाज लघुवित्त, सामलिङ पावर, कालिका पावर, सानिमा मिडल तमोर हाइड्रो, स्वाभिमान लघुवित्त, इन्फिनिटी लघुवित्त, मेन्छियाम हाइड्रो र मन्दाकिनी हाइड्रोका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका हुन् ।
त्यस्तै समग्रमा बजार बढे पनि नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.४६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २१ करोड ८४ लाख ८२ हजार ८ सय ८०.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार २६.३६ अंकले बजार घट्दा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३ सय ७९.८५ रुपियाँ बराबरको कारोबार भएको थियो ।
इपिएस परीक्षामा थप २० हजारको आवेदन
काठमाडौं । दक्षिण कोरियाका लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस) मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् ।
उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले उत्पादनतर्फ पुनः आवेदन माग गरेको थियो । त्यसमा त्यो सङ्ख्याको आवेदन परेको हो ।
उच्च अदालत पाटनले शुक्रबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएको थियो । त्यसपछि गत पुस १६ गते पुनः आवेदन खुला गरेको थियो । उत्पादनतर्फ थप आवेदनसहित अहिलेसम्मकै धेरै एक लाख ६४ हजार ७१६ जनाको आवेदन परेको इपिएस शाखाले जानकारी दिएको छ ।
सो शाखाका अनुसार गत साउनमा भएको सिप बिल्डिङको परीक्षामा सहभागी हुन पुस १६ देखि १८ सम्म आवेदन माग गरिएको थियो । त्यसमा आवेदन नपरेपछि पुनः २० गतेसम्म समय थप गरेर आवेदन सङ्कलन गरिएको सो शाखाले जनाएको छ ।
शाखाका अनुसार सिप बिल्डिङको भाषा परीक्षाका लागि ३५ हजार ७०८ वटा आवेदन परेकामा तीन हजार ९८९ जना उत्तीर्ण भएका थिए । शाखाले ३१ हजार थप आवेदन थपिने अनुमान गरेकामा २० हजार ९०४ जनाको आवेदन परेको छ ।
रोजगारीका लागि कोरिया जान सबैभन्दा पहिले भाषा परीक्षा उत्तीर्ण गर्नु पर्छ । दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार ८४८ नेपाली रोजगारीका लागि लैजाने छ ।
आवेदन दिएका परीक्षार्थीको परीक्षा ढिलोमा फागुनसम्म हुने इपिएस कोरिया शाखाले जनाएको छ । अहिलेसम्म एक लाख १० हजार युवाले कोरियामा रोजगारीको अवसर पाएको त्यसमध्ये अहिले करिब ५० हजार नेपाली युवा कोरियामा कार्यरत छन् ।
उच्च अदालतमा नवनियुक्त ३९ न्यायाधीशको शपथ आज हुँदै
काठमाडौं । उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीसको शपथ आज हुँदै छ । प्रधानन्यायाधीस विश्वम्भरप्रसाद श्रेष्ठले पाटन उच्च अदालतमा न्यायाधीशहरूको शपथ गराउने छन् ।
बिहान साढे १० बजेका लागि शपथग्रहण कार्यक्रम राखिएको उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले जानकारी दिए । शपथ ग्रहणसँगै न्यायायाधीशहरू आ–आफ्नो जिम्मेवारी तोकिएको उच्च अदालतमा पुगेर जिम्मेवारी सम्हाल्नेछन् ।
एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रियसभा सदस्य उमेदवार

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा सदस्यका लागि उमेदवारको छनोट गरेको छ ।
एकीकृत समाजवादीले वाग्मती प्रदेशबाट (दलित) बाट घनश्याम रिजाललाई टिकट दिएको छ ।
कर्णाली (महिला) सावित्री मल्ललाई राष्ट्रियसभा सदस्यको उमेदवार बनाउने पार्टीले निर्णय गरेको समाजवादीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मनोनय दर्ता हुँदै छ । माघ ११ गते १९ पदका लागि निर्वाचन हुनेछ ।
राष्ट्रियसभा सदस्य निर्वाचन उमेदवारी मनोनयन आज
काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उमेदवार मनोनयन हुँदै छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
उमेदवार छनोटका लागि दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन् ।
उमेदवारउपर २४ गते दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।
माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन् ।
माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ ।
निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।
स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्ष पूरा सकिन्छ ।
यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।
त्रिविको रिक्त उपकुलपतिको लागि दोस्रो पटक आवेदन माग
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले सोमबार दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।
यसअघि आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्नेलगायत विभिन्न मापदण्ड तोकिएको थियो ।
यसको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञापनमा कसैलाई पनि बन्देज नहुने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि समितिले यसअघिको सूचना रद्द गरेर दोस्रो पटक दरखास्त आह्वान गरेको हो । योग्य र इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने जानकारी दिईएको छ ।
















