काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ६३.७३ प्रतिशतले बढेर १८ करोड ४३ लाख ४९ हजार रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा यस्तो नाफा ११ करोड २५ लाख ९५ हजार रुपियाँ थियो ।
त्यस्तै, खुद बीमाशुल्क आर्जन २७.५२ प्रतिशतले बढेर ४६ करोड ९९ लाख १८ हजार रुपियाँ पुगेको छ । गत आवमा कम्पनीले ३६ करोड ६४ लाख ९९ हजार रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
पुस मसान्तसम्म कर्जा लगानीबाट हुने आम्दानी २.९१ प्रतिशतले बढेर १८ करोड १३ लाख ६६ हजार रुपियाँ पुगेको छ भने कमिसन आम्दानी १३.१३ प्रतिशतले घटेर १५ करोड १६ लाख १५ हजार रुपियाँमा सीमित भएको छ ।
चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपियाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी ६.२४ रुपियाँले बढेर १६.०२ रुपियाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १९४.८५ रुपियाँ छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद नाफा र प्रतिशेयर आम्दानी बढ्यो
प्रहरीमा जवानदेखि खेलाडीसम्म ठुलो संख्यामा भर्ना खुल्यो
काठमाडौं । नेपाल प्रहरीले १ हजार ८५६ जना जवान पदमा भर्ना खोलेको छ । यसैगरी भान्छे ५३, हजाम ७, कूचिकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना खुलेको छ ।
खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्र दरखास्त दिन पाइने आज सार्वजनिक सूचनामा उल्लेख छ ।
प्रहरी प्रधान कार्यालय नक्शालले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी गराएको हो ।
दरखास्त दिने म्याद फागुन २ गतेदेखि चैत ९ गतेसम्म छ । जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि सातवटै प्रदेश प्रहरी तालिम केन्द्रमा र काठमाडौं उपत्यकाका तीन जिल्लासहित सबै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त बुझाउन सकिन्छ ।
खेलाडीहरुका लागि भने काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मात्र दरखास्त फारम बुझाउनु पर्ने छ ।
यसैगरी गत कात्तिक ३ गते भर्ना खुलेको प्रहरी सहायक निरीक्षक (असई) पदमा १०५ जना थपिएको पनि प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज र भोलि बस्नेछ । स्थायी कमिटीमा विधानबारे छलफल हुने पार्टी कोषाध्यक्ष तथा पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन् । विधान सम्मेलनअघि बैठक बस्न लागेको हो ।
मुख्यसचिव श्रीराम ढकालका अनुसार माघ २८ र २९ गते केन्द्रीय कमिटीको बैठक पनि बस्नेछ । बैठक राष्ट्रियसभा गृहमा बस्नेछ । उक्त बैठकमा पार्टीले चलाएको चार महिने रुपान्तरण अभियानको समीक्षा हुनेछ ।
माओवादीको विधान सम्मेलन फागुन १–३ गतेसम्म कमलादीस्थित प्रज्ञा भवनमा हुँदै छ ।
त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनौट
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ जना मध्ये १४ उम्मेदवार अल्पसूची (सर्ट लिष्ट) मा परेका छन् ।
सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ती सूचीलाई बिहीबार सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उक्त सूचीमा पर्नेमा कुसुम शाक्य, केशरजङ्ग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायण बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापा छन् ।
त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल कात्तिक १८ गते सकिएकपछि गत कात्तिक २४ गते प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईका अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा. चन्द्रकला घिमिरे रहेकोे समिति गठन गरेका थिए । हाल शिक्षाध्यक्ष शिवलाल भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ ।
अर्को चुनावमा माधव नेपालको राजनति समाप्त हुने ओलीको घोषणा
रौतहट । नेकपा एमाले रौतहट जिल्ला कमिटीको १० औं अधिवेशन उद्घाटन गर्न आएका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहकर्मी माधवकुमार नेपालको आलोचना गरेका छन् । उनले अर्को चुनावमा माधव नेपालको राजनीति समाप्त हुने घोषणा गरेका छन ।
‘आफ्नो घर भत्काएर गठबन्धन मेरो घर हो भन्दै हिँडेका माधव नेपाललाई गठबन्धनले नै लात हानेर निकाले घरका न घाटका हुन्छन्’, अध्यक्ष ओलीले भने, ‘पार्टी विरोधी, सुशासनविरोधी तथा भ्रष्ट तत्वहरुको मतियार भएर तिनको सहयोगी भएर तिनको पछि पछि हिँडेका छन् माधव नेपाल ।’
एमालेले १५ वर्षसम्म पार्टी प्रमुख बनाएका व्यक्तिले पार्टीकै सरकार ढालेर कांग्रेसको सरकार बनाउन सहयोग गरेको भन्दै ओलीले आलोचना गरे । ‘नेकपा एमालेले १५ वर्ष पार्टीको प्रमुख बनायो, प्रधानमन्त्री बनायो तर उनले दुई तिहाइको अवस्थामा पुगेको पार्टीको सरकार ढालेर कांग्रेसको पाउमा लगेर सरकार बुझाउने व्यक्ति माधव नेपाल हुन् ।’
सत्ता गठबन्धनका कारण देशको दुर्दशा भएको भन्दै उनले सरकारका कारण विकासका आयोजनाहरुले गति लिन नसकेको आरोप लगाए ।
क्यानडाविरुद्धको क्रिकेटमा नेपाल ७ रनले विजयी
काठमाण्डौ । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित निकालेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरे। उनले चार विकेट लिए। रोहितले ८.५ ओभरमा २ मेडन राख्दा २२ रन मात्र खर्चिए। क्यानडाका लागि मध्यक्रमका ब्याट्सम्यानद्वय निकोलास किर्टन र पर्गत सिंहले अर्धशतक प्रहार गरे।
पर्गतले ५० रन जोड्ने क्रममा तेस्रो विकेटका लागि निकोलास किर्टनसँग ७९ रनको साझेदारी गरे। त्यसपछि हर्ष थाकेरलाई ३२ रन जोड्दा निकोलाससँग चौथो विकेट विकेटका लागि ६० रनको साझेदारी गरे।
निकोलासले ६० रनको योगदान गरे। पवन सर्राफबाट बोल्ड हुनुअघि उनले ९९ बलमा ७ चौका प्रहार गरे। निकोलासले गरेको दुई महत्वपूर्ण साझेदारीले क्यानडा बलियो अवस्थामा पुगेको थियो।
नेपालबाट ओपनर भुर्तेलले ५८ बलमा नौ चौका र एक छक्कासहित ६२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो सातौँ अर्धशतक हो । आरिफ सेखले ५० बलमा चार चौकासहित ३८ रन थपे । सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७ र पवन सर्राफले १५ रन थपे ।
यसबाहेक, ओपनर आसिफ सेख र कप्तान पौडेलले समान आठ रन बनाए । ‘डेब्युट्यान्ट’ रिजन ढकाल चार रनमा पभेलियन फर्किदा सूर्य तामाङले १० रन थपे ।
क्यानडाका उदय भगवानले तीन विकेट लिए । आठ ओभर बलिङ गरेका उदयले एक मेडन फ्याक्दै ४० रन खर्चिए । साद बिन जफरले दुई विकेट लिँदा इश्वरजोत सोही, साहिद अहमदजाई र हर्ष थाकेरले समान एक विकेट लिए ।
शेयर बजारमा ५.७४ अंकको सुधार, करीब सवा ३ अर्बको कारोबार
काठमाडौं । शेयर बजार निरन्तर बढेरै यो साताका लागि बिश्राम लिएको छ । लगातार बढिरहेको बजार आज पाँचौ दिन पनि बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.७४ अंकले उचालिएको हो । ०.२७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०९६.३८ अंकमा पुगेको छ ।
आज ३ सय १७ कम्पनीका ९१ लख ७१ हजार ७ सय १० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४ सय ५३।६३ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज समाज लघुवित्त, बुद्धभूमि हाइड्रो, त्रिशुली जलविद्युत, मायाखोला हाइड्रो र स्वेतगंगा हाइड्रोका लगानीकर्ताले क्रमशः १०, ९.९९, ९.८४, ७.७८ र ७.४९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम ३ का लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको १८ करोड ८७ लाख ९० हजार २ सय ५२.९० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ५.३१ अंकले बजार घट्दा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २ सय २१.७९ रुपियाँ, सोमबार १४.५७ अंकले बजार बढ्दा २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २ सय ५४.५६ रुपियाँ, मंगलबार ७.६३ अंकले बजार बढ्दा २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९ सय ७.७६ रुपियाँ र हिजो बुधबार ४.९२ अंकले बजार बढ्दा २ अर्ब ८४ करोड २५ लाख ५० हजार २ सय ३७.४७ रुपियाँ बराबरको कारोबार भएको थियो ।
आज संघीय संसदका तीन समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदका तीन समितिको बैठक आज बस्दैछ ।
संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र दिगो विकास तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
शिक्षा समितिमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुने जनाईएको छ भने राष्ट्रिय सरोकार समितिमा १६ औं पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिक मैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरुका सम्बन्धमा छलफल हुने जनाईएको छ ।
साथै, दिगो विकास समितिमा संघीय संसद भवन निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ ।
नेपाल र क्यानडाबीचको पहिलो खेल आज बिहान ९ः १५ बजेदेखि शुरु
काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दैछ ।
यो खेल त्रिभुवन विश्व विद्यालयको खेल मैदानमा बिहान ९ ः १५ बजेदेखि शुरु हुदैछ । क्यानाडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात माघ २५ गते पहिलो खेल हुने छ भने १० फेब्रुअरी अर्थात माघ २७ गते दोस्रो तथा १२ फेब्रुअरी अर्थात माघ २९ गते तेस्रो खेल हुने क्यानले जानकारी दिएको छ ।
क्यानडाविरुद्धको सिरिजका लागि रोहित पौडेलको कप्तानीमा क्यानले १५ सदस्यीय टिमको घोषणा गरेको छ । क्यानडाविरुद्ध रिजन ढकालसहित हेमन्त धामी र आकाश चन्दलाई पहिलो पटक टिममा सामावेश गरिएको छ भने करण केसी, दिपेन्द्र सिंह ऐरीलगायतलाई भने क्यानाडाविरुद्धको खेलमा आराम दिइएको छ ।
क्यानडाविरुद्ध खेल्ने टिममा रोहित पौडेल (कप्तान०, आसिफ सेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भिम सार्की, आरिफ सेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सुर्य तामाङ, ललित राजबंशी, आकाश चन्द र अनिल शाह रहेका छन् ।
सन् २०१९ मा एकदिवसीय मान्यता गुमाएको क्यानडाले २०२३ क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गर्दै ४ वर्षका लागि एकदिवसीय मान्यता पुनः प्राप्त गरेको हो । त्यस्तै क्यानडाले आईसीसी टी २० विश्वकप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी–२० विश्वकपमा समेत आफ्नो स्थान सुरक्षित गरेको छ ।
गिरिबन्धु टी स्टेटलाई जग्गा सट्टाभर्ना दिने निर्णय सर्वोच्चद्धारा बदर
काठमाण्डौ । झापाको गिरिबन्धु टी स्टेटलाई हदबन्दीभन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने तत्कालीन सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।
बुधबार बसेको संवैधानिक इजलासले तत्कालीन सरकारले २०७८ वैशाख १३ गते गरेको निर्णय बदर गरेको हो ।
संक्षिप्त आदेशमा भनिएको छ, ‘नेपाल सरकार (मन्त्रिपरिषद्० को मिति २०७८, ०१, १३ को प्रत्यथर्थी गिरीबन्धु टी स्टेट प्रा।लि।लाई ३४३–१९–१२ बिगाहा जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने विवादित निर्णय भूमि सम्बन्धी ऐन, २०२१ को दफा १२ ग लगायतका कानूनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र सो बमोजिम भए गरिएका काम कारबाहीसमेत बदर हुने ठहर्छ । सामान्यतया हदबन्दीभन्दा बढी भएको जग्गा जफत नै गर्नुपर्ने हुन्छ । यस मान्यतामा अन्यथा प्रतिकूल असर नपर्ने गरी जग्गाको क्षेत्रफल, चिया उत्पादन हुने क्षमता, सम्भाव्यता, सट्टापट्टा हुने जग्गाको समानुपातिक सुनिश्चितता, सट्टापट्टा गरिने जग्गाको मूल्य समेतका समग्र प्राविधिक तथा व्यवस्थापकीय विषयहरू यकिन भएपछि भूमि सम्बन्धी ऐन लगायत सोसम्बन्धी अवधारणा अनुकूल हुने गरी मात्र हदबन्दीभन्दा बढी भएको जग्गाको व्यवस्थापन गर्नूरगराउनू भनी प्रत्यर्थी नेपाल सरकारका निकायहरूका नाममा परमादेश जारी हुने ठहर्छ ।’