काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्ड भ्रमणमा जाने भएका छन ।
जेठ ३१ गते जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा भाग लिन उनी त्यसतर्फ जान लागेका हुन ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको भ्रमणलाई स्वीकृति दिएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन । उनका अनुसार राष्ट्रपति पौडेल उतैबाट जर्मनी पुग्नेछन ।
राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमणमा जाने
सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु
सुर्खेत । सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको हो ।
प्रहरीका अनुसार जिप सडकबाट ३ सय मिटर तल खसेको छ । जिप बिहीबार बिहान दुई बजेतिर दुर्घटना भएको भएपनि ढिलो गरी मात्रै थाहा भएकाले यतिबेला प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ ।
जिपमा ८ जना सवार रहेको अनुमान गरिएको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले अहिलेसम्म दुई जनाको शव उद्धार गरेर सडकमा ल्याइएको र बाँकी दुई जनाको शव ल्याउने तयारी भइरहेको छ । बाँकीको खोजी कार्य पनि भइरहेको उनले जनाए ।
आज वार्म अप खेलमा नेपाल र अमेरिका भिड्दै
काठमाडौं । नेपालले टी २० विश्वकपअघि आज अमेरिकाविरुद्ध वार्म अप खेल खेल्दै छ ।
डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि सुरु हुने छ । यो खेल मौसमले प्रभावित गर्न सक्नेसमेत अनुमान गरिएको छ ।
नेपालले यसअघि क्यानडाविरुद्ध खेलेको वार्म अप खेलमा ६३ रनको हार बेहोरेको थियो । आइसीसी वरियतामा नेपाल १७औं स्थानमा छ भने अमेरिका १९औं स्थानमा रहेको छ ।
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी २० विश्वकपमा नेपाल समूह ‘डी’मा रहेको छ । यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।
विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।
उत्पादन र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट आएको प्रधानमन्त्रीको दाबी
सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने जानकारी दिएको छन ।
चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्व र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट आएको दाबी गरे ।
“गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।” उनले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याइपुर्याउने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्त्वका कार्यक्रम अघि सारेको जनाए ।
“प्रदेश सरकारको नीति तथा कार्यक्रमले समेत यसलाई अघि सारेको छ, त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ,” प्रधानमन्त्री प्रचण्डले भने। उनले पछिल्ला दिनहरूमा अस्पतालको सेवाप्रवाहमा गुणात्मक परिवर्तन आएको जानकारी दिए ।
देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र र समाज स्वस्थ हुनु हो भन्दै प्रधानमन्त्री प्रचण्डले स्वस्थ नागरिकबाटै समृद्धिको सपना साकार हुने विश्वास व्यक्त गरे । “शारीरिक तथा मानसिकरूपमा सबल, सक्षम र स्वस्थ नागरिकहरूको प्रयत्नबाट मात्रै कतिपय देशहरू हरेक क्षेत्रमा फड्को मार्न सफल भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “यही कुरालाई मनन गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ र गणतन्त्र प्राप्तिको छोटो अवधिमा स्वास्थ्य सूचकाङ्कहरूमा उल्लेख्य सुधार भएको छ ।”
विसं २०७२ सालको महाभूकम्पले धरासायी बनाएको चौतारा अस्पतालको पुनःनिर्माण प्रक्रिया अघि बढाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ भवन निर्माण भएसँगै अस्पतालको खुलाचौरमा टेण्टभित्र स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता अन्त्य भइ सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरेका छन ।
व्यवस्थासँगै अवस्था परिवर्तनका लागि सिन्धुपाल्चोकको महत्त्वपूर्ण भूमिमा रहेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले जनयुद्धको कठिन समयमा यहाँका जनताबाट माया पाएको स्मरण गरे । “म थुप्रैपटक सिन्धुपाल्चोक आएको छु, जनयुद्धको कठितम् दिनहरूमा मैले यहाँका गाउँवेशी चहारेको छु, यहाँका भीरपाखाहरू छिचोलेको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “बृद्ध आमाहरूले मायाले पकाएर दिनुभएको खोलेफाँडो खाएर क्रान्तिको मोर्चामा लामबद्ध भएको छु ।”
हाजिरी जमानतमा छुटे कैलाश सिरोहिया
काठमाण्डौं । कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा रिहा भएका छन् ।
नागरिक सम्बन्धी कसूरमा जिल्ला अदालत धनुषाको आदेशले पक्राउ परेका सिरोहियाको स्वास्थ्यमा समस्या देखिएको भन्दै उपचारका लागि काठमाण्डौं ल्याइएको थियो ।
जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएका सिरोहियालाई मंगलबार काठमाण्डौ ल्याइएको थियो ।
सरकारी वकिलको कार्यालय धनुषासँग अनुमति लिएर धनुषा प्रहरीले सिरोहियालाई छोड्न भनेपछि ललितपुर प्रहरीले उनलाई हाजिरी जमानीमा रिहा गरेको छ । अनुसन्धानका लागि आवश्यक परेको बेला उपस्थित गराउनुपर्ने शर्तमा उनलाई छाडिएको छ ।
एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित
काठमाडौं । नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । घनश्याम कँडेललाई पराजित गरेका उनले ६०६ मत प्राप्त गरे । पाठक निवर्तमान समितिका उपाध्यक्ष हुन् ।
उपाध्यक्षमा श्यामकुमार विष्ट निर्वाचित भएका छन् । उनले ४०४ मत प्राप्त गरेका छन् ।
सचिवमा प्रकाश ढुंगाना निर्वाचित भएका छन् । उनले ४६६ मत प्राप्त गरे ।
उपसचिवमा मीनबहादुर परियार र ज्वाला पुरी वन निर्वाचित भएका छन् ।
आइतबारदेखि बजेटमाथि छलफल हुने
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्को दुवै सभामा आगामी आर्थिक वर्ष ०८१, ८२ को बजेट प्रस्तुत गरे ।
प्रस्तुत बजेटमाथि आइतबारदेखि दुवै सभामा छलफल हुनेछ ।
सभामुख देवराज घिमिरेले छलफलका लागि प्रतिनिधिसभाको बैठक आइतबार ११ बजे बोलाएका छन् ।
प्रतिनिधिसभामा २०, २१ र २२ जेठसम्म छलफल हुनेछ भने उठेमा प्रश्न तथा जिज्ञासामाथि २३ गते अर्थमन्त्रीले जवाफ दिनेछन् । त्यसैगरी, राष्ट्रिय सभामा २०, २१ र २२ जेठसम्म छलफल हुनेछ । सोही दिन २२ गते नै अर्थमन्त्री पुनले जवाफ दिनेछन् ।
राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले छलफलका लागि आइतबार १ बजेर १५ मिनेटमा बैठक डाकेका छन् ।
एमालेको राष्ट्रिय महिला भेला आजदेखि
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आजदेखि ‘राष्ट्रिय महिला भेला’को आयोजना गर्दै छ । पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले भेलाको तयारी पूरा भएको जानकारी दिए ।
भेलामा पार्टीका २३ वटै जनसंगठका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजार जनाको सहभागी हुने जनाईएको छ ।
एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको संकल्प प्रस्तावका रूपमा पास गरेको स्मरणमा भेलाको आयोजना गरिएको जनाइएको छ । भेला जेठ १६ र १७ गते प्रज्ञा भवन कमलादीमा सञ्चालन हुनेछ ।
भेलामा सहभागीहरुले १२ समूह विभाजन भइ छलफल गरी निष्कर्षसहित सरकारलाई सुझाव दिने जानकारी दिईएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम ४० डिग्री सेल्सियसमाथि
काठमाण्डौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसम पूर्वानुमान गरेको छ ।
नेपालमा हाल स्थानीय र पश्चिमी वायुको प्रभावसंगै बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा केही दिनयता गर्मी बढेको छ । यी प्रदेशका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र सो भन्दा बढी मापन गरिएको छ । अझै केही दिन तापक्रम बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आगामी केही दिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागको भनाइ छ । त्यसैले यसबाट जोगिन आवश्यक तयारी गर्न विभागले आग्रह गरेको छ ।
आज बिहान कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
सूर्य थापाको संयोजकत्वमा सहकारी ठगी छानबिन संसदीय समिति गठन
काठमाडौं । प्रतिनिधिसभाले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ । समितिको नाम ‘सहकारी संस्था बचत रकम दुरुपयोग समबन्धमा संसदीय छानबिन विशेष समिति’ राखिएको छ ।
समितिको संयोजकमा एमालेका सांसद सुर्य थापा रहेका छन् भने एमालेबाट थापा र सरिता भुसाल रहेका छन ।
त्यस्तै कांग्रेसबाट सांसदहरु ईश्वरी देवी न्यौपाने, र बद्रीप्रसाद पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका छन ।