काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय नेपाली कांग्रेसले गरेको छ ।
शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री छान्ने मापदण्ड तय गरेको छ ।
बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा मापदण्ड लागू गर्ने भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
बैठकले योगदान र योग्यता, समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गर्ने मापदण्ड बनाएको छ । सकेसम्म एकैपटक मन्त्रीहरूको टुंगो लगाएर जाने तयारी गरिएको उनले जनाए ।
कांग्रेसमा मन्त्री बन्ने आकांक्षी धेरै भए पनि मापदण्डका आधारमा मन्त्री छनोट गरिने भएको छ । कांग्रेसबाट गृहमन्त्रीमा रमेश लेखक र परराष्ट्रमन्त्रीमा आरजु राणा देउवाको नाम चर्चामा छ ।
ओली नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसको निर्णय
वाटर ड्रोन र क्यामेरा प्रयोग गरी त्रिशुलीमा हराएका बसको खोजी
काठमाडौं । त्रिशुली नदीमा हराइरहेका दुई वटा बस खोज्न वाटर ड्रोन र क्यामेरा प्रयोग गरिएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशुलीमा खसेका बस खोज्न शनिबारबाट सशस्त्र प्रहरी बलका गोताखोरहरुले वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरेका हुन्।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले भने, हिजो दिनभरि खोज्दा पनि बस फेला परेनन्। मौसमले पनि साथ दिएन। आज बिहानैबाट वाटर ड्रोनको प्रयोग गरेर बस खोज्न थालेका छौँ ।’
बस खोज्न सशस्त्र प्रहरी बलका ९ जना गोताखोर सहितको टिम परिचालन गरिएको छ । नेपाली सेनाका सहित २८ जना गोताखोर परिचालन गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशुलीमा दुई वटा डिलक्स बस खसेका थिए। काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र एन्जल वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन्।
एन्जल डिलक्समा २४ जना र गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार थिए। दुईवटा बसमा सवार कम्तीमा ५५ यात्रुको अवस्था अझै अज्ञात छ।
भोली एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त हुदैँ
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । आइतबार साँझ ५ ः ३० बजेसम्म ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने समय दिइएको छ । आइतबार साँझ नै ओलीको सपथ ग्रहणसमेत हुनेछ ।
शुक्रबार संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाएका थिए । ।
प्रधानमन्त्रीमा ओलीले गरे दाबी पेस
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेपछि ओलीले कांग्रेसको समर्थनमा दाबी पेस गरेका हुन् ।
शुक्रबार साँझ सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका ओलीले कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।
जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस(एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जनाए ।
ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरिसकेको भन्दै नियुक्ति कहिले गर्ने भन्ने राष्ट्रपति पौडेलको निर्णयमा निर्भर हुने उनको भनाई छ । शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएपछि नयाँ सरकारको ढोका खुलेको थियो । प्रचण्डले राखेको विश्वासका मतको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओलीको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको थियो । संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ । कांग्रेस र एमालेको समर्थन जुटाएर दाबी पेस गरेका ओलीलाई सरकार आह्वानको समयसीमा अगावै नियुक्त गर्ने राष्ट्रपति पौडेलको तयारी छ ।
पदमुक्त भएपछि प्रचण्ड खुमलटार फर्किए
काठमाडौँ । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार छाडेर खुमलटार फर्किएका छन्। पदमुक्त हुने बित्तिकै राष्ट्रपतिलाई भेटेर उनी आफ्नो निजी निवास खुमलटार फर्किएका हुन्।
बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमलटारमा सरेका छन्।
यसअघि प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका थिए।
एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए। तर, प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्यो भने उनको विपक्षमा १९४ मत परेको थियो।
नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुई वटा बस बेपत्ता
चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ रहेको जनाईएको छ ।
घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले उद्धारको काम थालिएको र पहिरो पन्छाउन सुरु गरिएको जानकारी दिए । ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको यादवले जनाए ।
पहिरोमा परेर कास्कीमा एकै परिवारका सातसहित ९ जनाको मृत्यु
कास्की । अविरल वर्षापछि पहिरो जाँदा गएराति कास्कीमा मानवीय क्षति भएको छ । पहिरोमा परी पोखरामा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको हो । पहिरोमा दुई जना बेपत्ता छन् ।
पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुर्दा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । पहिरोमा परेर कुलबहादुरसहित उनकी आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको निधन भएको हो ।
राति १०ः३० बजेको समयमा परिवारका सबै सदस्य जम्मा भएको बसेको बेला पहिरो खसेको जनाईएको छ । घटनामा दुई जनाको सकुशल उद्धार गरिएको जनाईएको छ ।
यसैगरी, पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
११ वर्षीया अनुस्का ओझा बेपत्ता छन् । मादी गाउँपालिका–११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि पहिरोेमा परी बेपत्ता भएको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा परेका ओमबहादुर गुरुङलाई सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी नायब उपरीक्षक शर्माले पहिरोमा परेर मृत्यु भएका सबैको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जानकारी दिए । पहिरोमा बेपत्ताको खोजी भइरहेको जनाईएको छ ।
आज प्रधानमन्त्रीले विश्वासको मत लिदै
काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिदैंछन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएपछि अल्पमतमा परेका प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिने जानकारी गराएका छन् । प्रधानमन्त्रीलाई नेकपा एमाले र कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरे पनि उनले संसद फेस गर्ने जनाउँदै आएका छन् ।
प्रधानमन्त्री दाहाललाई नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने निर्णय गरेको छ । त्यस्तै जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
नेपाली कांग्रेसले पनि आजको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भइ आफ्ना सांसदहरूलाई प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न निर्देशन जारी गरेको छ ।
असार १७ गते एमाले र कांग्रेसबीच गठबन्धनसहितको राष्ट्रिय सरकार बनाउने सहमति भएको थियो । सहमतिअनुसार संसदको बाँकी कार्यकाल नेपाली कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्नेछन् । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमति भएको छ । उनीहरूबीच संविधानको धारा ७६ (२) अनुसार नै सरका गठन गर्ने सहमति भएको हो ।
सुदूरपश्चिमका मुख्यमन्त्रीकी श्रीमती भ्रष्टाचारी ठहर
काठमाण्डौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारी भ्रष्टाचारी ठहर भएकी छन् ।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको अभियोगमा विशेष अदालतले उनलाई बिहीबार दोषी ठहर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माविकी शिक्षिका गीताले बोर्ड अफ सेकेण्डरी एजुकेसन दिल्लीबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेश गरेकोमा प्रमाणपत्र नक्कली रहेको ठहर भएको छ ।
नक्कली प्रमाण पत्रका दोषीले कम्तीमा ६ महिनादेखि १ वर्षसम्म जेल बस्नुपर्ने प्रावधान छ ।
सामाजिक सुरक्षाका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्न गृहमन्त्रालयलाई मन्त्रिपरिषद्को निर्देशन
काठमाडौं । सरकारले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरि पहल गर्न गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भारी वर्षाका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएको हुनाले तत्कालका लागि लागू नगर्ने गरि पहल गर्न निर्देशन दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एंव सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिईन ।
यस्तै, उनले बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ पूरक आदेश जारी गर्ने निर्णय गरेको पनि गरेको जानकारी दिईन ।
साथै, उनले स्थानीय तह, राजस्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका २०८१ स्वीकृति गर्ने र सरकारी कोषको नगद व्यवस्थापन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय पनि भएको जानकारी दिईन ।
















