काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेपछि ओलीले कांग्रेसको समर्थनमा दाबी पेस गरेका हुन् ।
शुक्रबार साँझ सभापति शेरबहादुर देउवालाई साथ लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका ओलीले कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।
जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस(एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जनाए ।
ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरिसकेको भन्दै नियुक्ति कहिले गर्ने भन्ने राष्ट्रपति पौडेलको निर्णयमा निर्भर हुने उनको भनाई छ । शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएपछि नयाँ सरकारको ढोका खुलेको थियो । प्रचण्डले राखेको विश्वासका मतको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओलीको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको थियो । संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ । कांग्रेस र एमालेको समर्थन जुटाएर दाबी पेस गरेका ओलीलाई सरकार आह्वानको समयसीमा अगावै नियुक्त गर्ने राष्ट्रपति पौडेलको तयारी छ ।