काठमाडौँ । यो वर्षको मनसुन अवधिमा बाढी(पहिरो जस्ता विपत्तिमा परेर हालसम्म एक सय २८ जनाले ज्यान गुमाएका छन्। मनसुन सुरु भएको दिन गत जेठ २८ गतेदेखि शनिबारसम्म ४२ दिनको अवधिमा १२८ जनाले ज्यान गुमाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका घटनामा परी आज दिउँसोसम्म एक सय ४३ जना घाइते भएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरो लगायत विपद्मा परी काठमाडौँ उपत्यकामा २, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा ९ जनाको ज्यान गएको छ।
बाढीका कारण एक सय ८२ घर डुबानमा परेका तथा दुई सय २८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, एक विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।
विपद्मा परी पाँच सय ८९ वटा पशु(चौपाया मारिएका छन्। उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ७ सय ७९ घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ।
नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बस अझै फेला पर्न सकेका छैनन्। बस तथा बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा आजदेखि भारतीय टोली पनि परिचालन भएको छ।
बाढीपहिरोमा परी १२८ जनाले ज्यान गुमाए
भोलि प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन एमाले सांसदलाई ह्विप
काठमाडौँ । नेकपा एमालेले भोलि (आइतबार) बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ ।
भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएकोले एमालेले आफ्ना सांसदहरुलाई ह्विप जारी मुख्य सचेतक महेश बर्तौलाले जनाए ।
प्रधानमन्त्री ओलीलाई संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले विश्वासको मत दिने भएकोले बहुमत जुटाउन सकस छैन । यद्यपि ओलीले दुई तिहाइ समर्थन जुटाउने लक्ष्यका साथ साना दलहरूसँग पनि विश्वासको मत मागिरहेका छन् ।
कांग्रेस संसदीय दलको बैठक भोलि १२ बजे बस्ने
काठमाडौं । सत्तारुढ घटक नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
भोलि आइतबार मध्यान्ह १२ बजेका लागि बोलाइएको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुभन्दा अगाडि बस्ने बैठकमा सरकार, संसद् र समसामयिक राजनीतिको विषयमा छलफल हुने जनाईएको छ ।
जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
काठमाण्डौं । उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिदैछन् ।
जसपा अध्यक्ष उपेन्द्र यादव र नेता राजकिशोर यादव प्रधानमन्त्री ओलीसंग निरन्तर संवादमा छन् । जसपा संसदीय दलको बैठकबाट यसबारेमा निर्णय गर्ने पार्टी अध्यक्ष यादवले जानकारी दिएका छन् । शनिवार जसपा संसदीय दलको बैठक बोलाउने तयारी छ ।
जसपाले ओली नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, जसपालाई भने सरकारमा सहभागी गराइएको छैन् । जसपाबाट राजकिशोर यादवलाई मन्त्री बनाउने सम्भावना छ ।
साउन ६ मा विश्वासको मत लिएसंगै यादवलाई मन्त्री नियुक्त गर्ने सम्भावना रहेको जनाईएको छ । त्यसमा अध्यक्ष उपेन्द्र यादव समेत सकरात्मक भइसकेका छन् । जसपाले उद्योग मन्त्रालयमा दावी गरेको छ । यसअघि यादव १३ दिन उद्योगमन्त्री समेत बनेका थिए ।
हाल उद्योगमन्त्रीमा एमालेबाट दामोदर भण्डारी र भुमिसुधार मन्त्री वलराम अधिकारी दोहोरिएका छन् । जसपा सरकारमा सहभागी भए एमालेबाट एक मन्त्री घट्ने सम्भावना छ ।
माओवादी, रास्वपा र एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
काठमाडौं । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।
राष्ट्रियसभाको बैठक सवा १ बजे बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ ।
बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयले बैठकको कार्यसूची सार्वजनिक गरेको छैन ।
एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल आज युएईसँग खेल्दै
काठमाण्डौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।
नेपालले प्रतियोगितामा पहिलो खेल आज यूएईसँग खेल्नेछ । श्रीलङ्काको रनगिरी डम्बुल्ला इन्टरनेशनल स्टेडियममा हुने नेपाल र यूएईबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे हुनेछ ।
तीन साता अगाडि एसिया कपको तयारीका लागि श्रीलंका पुगेको नेपाली टिमले तीन वटा अभ्यास खेल खेलेको छ । तीनमा दुई हार र एक जित निकालेको नेपाली टिमले राम्रो तयारी गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।
साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट छनोट भएको हो ।
प्रतियोगितामा आठ टोलीको सहभागी छन् । दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ ।
समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् । समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते आइतबार हुनेछ ।
नेपाली महिला एसिया कप टोलीको नेतृत्व क्यानले इन्दु बर्मालाई दिएको छ । बर्मा कप्तान रहेको टोलीमा पूर्व कप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन् ।
नेपालले दोस्रो खेल साउन ६ गते पाकिस्तानसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेल बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ । यो खेल साउन ८ गते डम्बुलामै हुनेछ ।
नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा सहभागीता जनाएको थियो ।
आज राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।
चालु आर्थिक वर्षमा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा नेपाल राष्ट्र बैंकले तयार गरेको छ । आज बिहान बस्ने सञ्चालक समितिले मौद्रिक नीतिलाई अनुमोदन गर्ने जनाईएको छ ।
बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएकाले कर्जा बढाउने नीतिका साथ मौद्रिक नीति ल्याउन लागिएको हो । निर्माण क्षेत्र, थोक तथा खुद्रा क्षेत्रमा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा तयार भएको जानकारी दिईएको छ । त्यस्तै, कर्जा बढाउन सेयर बजार, घरजग्गा र सवारीसाधन कर्जामा लोन टू भ्यालु रेसियो र जोखिम भारमार्फत् सहजीकरण गर्न खोजिएको राष्ट्र बैकले जनाएको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको वर्तमान आर्थिक, वित्तीय स्थायित्व र सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा आधारित भएर मौद्रिक नीति आउने जनाउँदै आएका छन्।
प्रधानमन्त्रीले साउन ७ गते सांसदहरूको जवाफ दिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ७ गते सांसदहरूको जवाफ दिने भएका छन ।
प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रधानमन्त्री ओलीले संसदको प्रश्नोत्तरमा सहभागी हुन लागेका हुन ।
आज सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूबीच प्रधानमन्त्री ६ गते विश्वास मत लिने र ७ गते प्रश्नोउत्तर गर्ने कार्यक्रम तय भएको जानकारी दिइएको हो ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने लोसपाको निर्णय
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिए ।
वर्तमान सरकारलाई समर्थन गरेको लोसापका तर्फबाट नेता शरदसिंह भण्डारी श्रम तथा रोजगारमन्त्री छन । प्रतिनिधिसभामा लोसपाका चार सांसद छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान बमोजिम यही साउन ६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । गत आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
















