Page 14

काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित, प्रतियोगिताबाट बाहिरियो

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधवारको दोस्रो खेलमा काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित भएको छ ।
काठमाडौंले दिएको एकसय ४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा अल आउट भएको हो । लुम्बिनीले सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनाउन सफलभएको छ ।
टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका थिए ।लिग चरणमा कर्णाली याक्ससँग खेल्न बाँकी लुम्बिनीले चितवन राइनोजलाई ३३ ले मात्रै हराउन सक्यो ।
बाँकी खेलमा हार बेहोरेको लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो । यता, काठमाडौंले भने दोस्रो जित हासिल गरेको छ । काठमाडौंले यसअघि कर्णाली याक्सलाई तीन विकेटले पराजित गरेको थियो ।

यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सीईओमा कमल गौतम नियुक्त भएका छन् ।
सञ्चालक समितिको आज बसेको बैठकले गौतमलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरको सहायक महाप्रबन्धक डोरिन्द्रराज दहालले जानकारी दिएका छन् ।
विगत ३ दशकदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत रही विकास बैंक र निर्जीवन बीमा कम्पनीमा सीईओको अनुभव हासिल गरिसकेका गौतमले त्रिविबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन् ।

शेयर बजारमा ४५.८८ अंकको उछाल, पाँच अर्ब बढीको कारोबार

काठमाडौं । निरन्तर ओरालो झरिरहेको शेयर बजारमा आज भने उच्च अंकको सुधार देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४५.८८ अंकले अंकले बढेको हो । १.७१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७१५.७१ अंकमा उक्लिएको छ ।
समग्रमा बजार बढे पनि म्युचुअल फण्ड भने ०.३४ प्रतिशतले घटेको हो । अरु बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी बैंकिङ समूह ३.४३ प्रतिशतले बढेको छ ।
आज ३०८ कम्पनीका १ करोड १३ लाख ८६ हजार ८ सय ५४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार ४ सय ५०.१० रुपियाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा बढी ङादी पावरका लगानीकर्ताहरुले ९.९७ प्रतिशतले नाफा कमाउँदा खानीखोला हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९९ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज जानकी फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३६ करोड १५ लाख २ हजार ४ सय ४३.६० रुपियाँ बराबरको कारोबार भएको महासंघले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ४५.९३ अंकले घट्दा ७ अर्ब ४६ करोड ३ लाख ४ हजार ९ सय ९९.५५ रुपियाँ, सोमबार १२.८४ अंकले बजार घट्दा ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८ सय २२.०९ रुपियाँ र हिजो मंगलबार ६.३२ अंकले बजार तल झर्दा ४ अर्ब ४१ करोड ३३ लाख २० हजार २ सय ९०.८१ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

प्रमुख सूचना आयुक्त आचार्यले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरू गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराएका हुन् ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याललगायतको उपस्थिति रहेको थियो ।
शपथपछि शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रूपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भूमिका प्रभावकारी हुनुपर्ने जनाउँदै असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने जानकारी दिए ।
उनले लोकतन्त्रको उपयोग गर्दा आफ्ना न्यायोचित हक, अधिकारको उपयोग गर्नुपर्ने तर लोकतन्त्र र अराजकतालाई हटाएर काम गर्नुपर्नेमा जोड दिए ।
मन्त्रिपरिषद्को गत मङ्सिर ६ गतेको बैठकबाट सिफारिस समितिको सिफारिसका आधारमा आयोगको प्रमुख आयुक्त र आयुक्तहरूलाई नियुक्त गर्ने निर्णय गरेको थियो । मङ्सिर २३ गतेदेखि अघिल्लो कार्यकालका पदाधिकारीको कार्यकाल सकिएको थियो ।

नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आजदेखि सुरु हुँदैछ । पार्टीको केन्द्रीय कार्यालयमा आज र भोलि स्थायी कमिटी बैठक बस्ने भएको हो ।
पार्टीको देशभर सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्णय लिन बैठक बोलाइएको हो । बैठकले पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुङ्गो लगाएको नामावली अनुमोदन गर्ने जनाईएको छ ।

सुदूरपश्चिमविरुद्ध फिल्डिङमा जनकपुर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले फिल्डिङ गर्ने भएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर जनकपुरका कप्तान अनिल साहले फिल्डिङको निर्णय गर्दै सुदूरपश्चिमलाई ब्याटिङमा निम्त्याए ।
प्रतियोगिताको एक मात्र अपराजित जनकपुरले यसअघिका चारमध्ये चारै खेलमा जित निकालेको छ । आजको खेलमा सुदूपश्चिमविरुद्ध जित निकाले जनकपुर प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बन्नेछ ।
प्रतियोगिताको उद्घाटन खेलमै विराटनगर किंग्स्विरुद्ध आठ विकेटको जित निकालेको जनकपुरले दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि आठ विकेटकै जित निकालेको थियो । तेस्रो खेलमा जनकपुरले पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जित निकालेको थियो ।
चार खेलबाट आठ अंक जोडेको जनकपुर तालिकाको शीर्ष स्थानमा छ । शीर्षक्रम ब्याटिङमा रहेका कप्तान अनिल साह, विकेटकिपर आसिफ सेख, लहिरु मिलान्था, जिम्मी निसम र हर्ष थोकरबाट जनकपुरले बलियो साथ पाएको थियो ।
यता, चारमध्ये तीन खेलमा जित निकालेको सुदूरपश्चिम पनि आजको खेलमा जितसहित प्लेअफको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।
चार खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ । टिमका कप्तान समेत रहेका अलराउन्डर दीपेन्द्रसिंह ऐरीसँगै सैब जैब, विनोद भण्डारी, ब्रान्डन म्याकमुलमको साथले सुदूरपश्चिमलाई प्रतियोगिताकै उपाधि दाबेदारको रूपमा हेरिएको छ ।
सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको जित, खेलमा लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जित दर्ता गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिमले चितवन राइनोजविरुद्ध ३३ रनको हार व्यहोरेको थियो ।
प्रतियोगितामा जनकपुरले चारमध्ये तीन खेलमा लक्ष्य पछ्याउँदा जित निकालेको थियो । यता, सुदूरपश्चिमले भने जितका तीनवटै खेलमा टोलीले प्रस्तुत गरेको लक्ष्य रक्षा गरेको थियो ।

आज रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै

काठमाण्डौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा ५४ दिनदेखि प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज सातौँपटक कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीले तयारी गरेको छ । लामिछानेलाई हवाईमार्गबाट काठमाडौं हुँदै पोखरा लैजान लागिएको छ । बयानका लागि सोमबार बेलुका पर्सा पुर्‍याइएका लामिछानेको मंगलबार बयान लिइएको थियो ।
लामिछानेको यसअघि कास्की, रूपन्देही, काठमाडौं, चितवनमा बयान लिइएको थियो । सानो पाइला सहकारीमा जोडिएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशी र रामबहादुर खनाललाई बयानका लागि स्थलमार्गबाटै पर्सा पुर्‍याइएर प्रहरीले पुनः पोखरा पुर्‍याएको छ ।
पर्सा जिल्ला अदालतले गत मंसिर १९ गते रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको थियो ।

कर्णाली याक्ससँग पोखरा एभेन्जर्स सात विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्ससँग खेलमा कर्णाली याक्सले जित हासिल गरेको छ ।
मंगलबार टीयु क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको कर्णाली याक्सले जित निकालेको हो ।
पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो ।प्रतियोगितामा पाँचौँ खेल खेलेको कर्णालीको यो तेस्रो जित हो ।
कर्णालीको जितमा गुल्सन झाले ४९ रनको योगदान गरे । गुल्सनले ३७ बलमा तीन चौका र चार प्रहार गरेका थिए ।

संगठित अपराधमा प्रसाईंको प्रारम्भिक बयान सकियो

काठमाडौं । विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंमाथि प्रहरीले आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा प्रारम्भिक चरणको बयान लिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी होविन्द्र बोगटीका अनुसार, जिल्ला सरकारी वकिलको कार्यालय भद्रकालीमा लगेर उनको प्रारम्भिक चरणको बयान लिइएको हो ।
‘साइबर अपराधको कसुरमा अनुसन्धान गरिरहेका बेला उनी संगठित अपराध र आपराधिक विश्वासघातको कसुरमा पनि जोडिने तथ्य फेला परेको थियो’, उनले भने, ‘यसपछि साइबर अपराधको अनुसन्धान सकिएलगत्तै सीआईबी ल्याएर आपराधिक विश्वासघातमा अनुसन्धान थालेका थियौं ।’
पहिलो चरणको बयान सकिएपनि प्रसाईंसँग फेरि दोस्रो चरणको बयान हुने अधिकृतहरूको भनाइ छ । ‘कतिपय डिजिटल डिभाइसहरूको जाँचको प्रतिवेदन आउन बाँकी छ’, बोगटीले भने, ‘त्यसको प्रतिवेदन आएपछि थप सोधपुछ गर्नुपर्ने हुँदा दोस्रो चरणमा पनि बयान हुनेछ ।’
मंसिर दोस्रो साता झापाको चारआलीका ३६ वर्षीया नविन प्रधान भनिने हरिचन्द्र फुयाँललाई भारतको आछामबाट पक्राउ गरेर ल्याएसँगै प्रसाईंमाथि आपराधिक लाभको कसुरमा अनुसन्धान सुरु भएको थियो ।
भारतबाट नेपालका विभिन्न व्यवसायीलाई फोन गरेर धम्की दिएका फुयाँलले प्रसाईंको निर्देशनमा त्यस्तो फोन गरेको बयान दिएका थिए। उनको बयानपछि प्रसाईंमाथि संगठित अपराध र आपराधिक विश्वासघातको कसुरमा पनि अनुसन्धान थालिएको थियो ।
प्रहरीका अनुसार, हालसम्म चार जना व्यवसायीले प्रसाईंविरुद्ध उजुरी दिएका छन् । भारतबाट फुयाँलले विभिन्न व्यवसायी, पेशाकर्मी लगायतलाई ११३ पटक फोन गरेको कल डिटेल रेकर्ड (सीडीआर) बाट सीआईबीले फेला पारेको छ ।
‘धेरैले प्रहरीलाई खबर नै गर्नुभएको छैन, खबर नगर्नेमध्ये केहीले उनीहरूलाई रकम दिएको हुनसक्ने अनुमान छ’, एक अनुसन्धान अधिकृतले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं ४ मंसिरमा पक्राउ परेका थिए । उनले सामाजिक सञ्जालमार्फत ‘प्रमाण’ भन्दै सार्वजनिक गरेको विवरण झुठो भएको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुरमा अनुसन्धान थालेको थियो ।

चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु

काठमाडौं । नबिल बैंक लिमिटेडले सामाजिक उद्यमशीलता विकासमा निरन्तर आफ्ना कार्यक्रमहरू सञ्चालन गरेको छ । यसै अन्तर्गत, नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु गरेको छ ।
सोमबार त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा चौथो ब्याचको फेलोसिप कार्यक्रमको औपचारिक रूपमा सुरुवात गरिएको हो । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (सोमटियु) सँगको सहकार्यमा सञ्चालित यस कार्यक्रममा उद्यमी बन्न चाहने २० जनाले सहभागिता जनाएका छन् ।
नबिल बैंकले सामाजिक उद्यमशीलतामा रुचि राख्ने, नवीन सोच भएका, तथा उद्यमशील क्रियाकलापमा संलग्न नवउद्यमलाई आवश्यक ज्ञान र मार्ग निर्देशन प्रदान गर्ने उद्देश्य राखेर यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसअघि नबिल एसएसईले तीन समूहलाई उद्यमशीलता सम्बन्धित तालिम प्रदान गरिसकेको छ ।
चौथो चरणको फेलोसिप कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बैंक केवल निक्षेप संकलन र कर्जा लगानीमा मात्रै केन्द्रित रहँदै आएकोमा क्रमशः दायरा विस्तार गरेको जनाए । उनले नबिल बैंक समाजमा उद्यमशीलता विकासमा अग्रसर भएको प्रतिक्रिया दिए ।
अध्यक्ष पौडेलले नबिलले दिगो बैंकिङको अवधारणाअनुसार अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राख्दै नेपालको सन्दर्भमा कसरी अघि बढ्न सकिन्छ भन्ने सोचका साथ यस्ता कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।
नबिल बैंकले कीर्तिपुरमा उद्यमशीलता विकासका लागि ’हव’ स्थापना गर्न खोजिरहेको जानकारी दिँदै उनले विश्वविद्यालयसँग समन्वयका लागि अनुरोध गरे ।
नबिल बैंकका सञ्चालक निर्वाण चौधरीले सामाजिक उद्यमशीलतामा रुचि राख्नेहरूलाई सधैँ उत्कृष्ट प्लेटफर्म नबिलले प्रदान गर्दै आएको जनाए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका व्यक्तित्वहरूको सहयोग लिएर पनि बैंकले उद्यमशीलता क्षेत्रमा काम गरिरहेको स्मरण गराए । यस फेलोसिपमा सहभागीहरूलाई आवश्यक सबै प्रकारका सल्लाह परामर्श प्रदान गरिने उनले जनाए ।
नबिल बैंकका सञ्चालक चौधरीले फेलोसिप कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्न थालेको भन्दै आफूहरू उत्साहित भएको प्रतिक्रिया दिए । ‘नबिलले सञ्चालन गरेको नबिल एसएसई कार्यक्रममा समाजमा निकै सकारात्मक प्रभाव पारेको हामीले महसुस गरेका छौँ, तपाईँहरूसँग अहिले राम्रो पूर्वाधार नहुन सक्छ । तर, यसका लागि उचित सल्लाह र परामर्शको खोजीमा हुनुहुन्छ भने यो प्लेटफर्म एकदमै उपयोगी हुनेछ’, चौधरीले भने ।
नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उद्यमशीलता विकासमा महत्त्वपूर्ण योगदान दिइरहेको जानकारी दिए । उनले हामीले के ग¥यौँ ? भन्ने प्रश्नमा गर्वका साथ जवाफ दिन सकिने गरी यो कार्यक्रमको प्रभाव परेको प्रतिक्रिया दिए ।
फेलोसिप कार्यक्रममा सहभागीहरूले ६ महिनाको अवधिमा १८ दिनको एक्सन–बेस्ड आवासीय तालिम लिने, एक वर्षसम्मको परामर्श सेवासमेत उपलब्ध गराइने जानकारी दिइएको छ । तीन महिनाको नबिल एसएसई सर्टिफिकेट कोर्सले सामाजिक उद्यम सञ्चालन र व्यवस्थापनका लागि आवश्यक ज्ञान तथा सीप प्रदान गर्दै आएको ज्ञवालीले जनाए ।
उनका अनुसार, तालिम अवधिभर सहभागीहरूले आफ्नो उत्पादनको ब्रान्डिङ, मार्केटिङ, र बैंकिङका विधिहरू सिक्नेछन् । उनले भने, ‘हामी व्यवसायका क्रममा आवश्यक सम्पूर्ण समाधान उपलब्ध गराउँछौँ ।’
त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (सोमटियु) का निर्देशक डा. गोविन्द तामाङले नबिल बैंकको यस्तो कदमले विश्वविद्यालय र कर्पोरेट क्षेत्रले कसरी समन्वय गरेर काम गर्न सक्छन् भन्ने उत्कृष्ट उदाहरण प्रस्तुत गरेको जानकारी दिए । यस्तो सहकार्यले विश्वविद्यालयलाई नयाँ पाठ्यक्रम निर्माण गर्न सहयोग पु¥याउने उनको विश्वास छ ।
फेलोसिपका २० सहभागीमध्ये ११ जना महिला छन् । सहभागीहरू काठमाडौंका ८, ललितपुरका ३, भक्तपुरका ३ र खोटाङ, रुपन्देही, सुनसरी, तनहुँ, बाँके र अर्घाखाँचीका ६ जना रहेका छन् ।
सहभागीहरूले पर्यावरणमैत्री व्यवसायजस्तै केराको फाइबरबाट कपडा निर्माण, प्राकृतिक जडिबुटीबाट सौन्दर्य सामग्री उत्पादन, र विभिन्न डिजाइनका मैनबत्ती उत्पादन गरिरहेका छन् । इन्जिनियरिङ र आयुर्वेद अध्ययन गरेर व्यवसाय सुरु गरेका उद्यमीहरूको सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको छ । कृषि उत्पादन, गहनाको निर्माण, डिजिटल लर्निङ म्यानेजमेन्ट सिस्टम, र इ–लर्निङ प्लेटफर्मको विकासमा सहभागीहरूको लक्ष्य रहेको बैंकले जानकारी दिएको छ ।
बैंकले सहभागी छनोटका लागि लामो प्रक्रिया अपनाएको थियो । साउनमा खुलेको सयौं आवेदकहरु मध्ये सम्भावना र काम गर्ने अठोट भएका व्यक्तिहरूलाई मात्र छनोट गरिएको हो ।
चौथो कोहर्टका सहभागीहरूले कार्यक्रममा आफ्ना उत्पादन प्रदर्शन गरेका छन् । उनीहरूले आफ्ना उत्पादनलाई दिगो बनाउने र विस्तार गर्ने तरिकाबारे विज्ञहरूसँग सल्लाह लिनका लागि कार्यक्रममा सहभागिता जनाएको प्रतिक्रिया दिए ।
नबिल एसएसई कार्यक्रम मार्फत हालसम्म ५६ जना सामाजिक उद्यमीलाई प्रशिक्षित गरिएको छ । तीमध्ये ४५ वटा उद्यम स्थापना भइसकेको नबिलले जनाएको छ । त्यस्तै एक हजार २०० भन्दा धेरैलाई रोजगारी उपलब्ध गराइसकेको छ ।

लेटेष्ट समाचार

समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य...

नेपालले आज युएईविरुद्ध टी–२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ। नेपाल र यूएईबीचको वार्म अप खेल...

झापा–५ मा बालेनको चुनावी अभियान तीव्र

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिखेर झापामा छन्। निर्वाचन नजिकिँदै जाँदा उनले झापा–५ मा चुनावी प्रचारप्रसार तीव्र बनाएका...