Page 8

जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने प्रचण्डको दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहने दाबी गरेका छन् ।
३०औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । ‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो’ उनले भने ‘यसले आज मात्र होइन, सयौं वर्षसम्म पनि प्रेरणा दिइरहने छ । यसलाई कसैले मेटाउन सम्भव छैन, जसले मेटाउने प्रयास गर्छ, उ खरानी हुनेछ ।’ जनयुद्ध दिवस राष्ट्रिय दिवस नै भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण देखाएर अदालतले स्थगन गरे पनि यो राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रुपमा स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरे ।
‘हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छौँ । यसको मुख्य प्रेरणा जनयुद्ध नै हो’ उनले भने, ‘हामी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा र विकास गरेर संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजवादको आधार तयार गर्ने यात्रामा छौँ ।’
जनयुद्ध र जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यतालाई एकथरि तत्वले अस्वीकार गर्ने र जनताका अधिकार कुण्ठित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले यी सबै प्रयास असफल पार्न आफूहरुले निरन्तर अग्रगमनका लागि संघर्ष गरिरहेको जानकारी दिए ।
‘अहिले पनि दुई वर्ग र प्रवृत्तिका बीचमा संघर्ष चलिरहेको छ । हामीले धेरै वर्ष पहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगे पनि प्रतिक्रियावादीहरुले जनताको गणतन्त्र हुन नदिने प्रयास हुनेछ भनेर आँकलन गरेका थियौँ, आज त्यही स्थिति बनेको छ’ अध्यक्ष प्रचण्डले भने, ‘एकथरि तत्व संविधानका अग्रगामी प्रावधान उल्ट्याउने प्रयासमा लागिरहेका छन् तर हामी यसलाई समाजवादी गणतन्त्रमा लैजान चाहन्छौं । यो संघर्ष चलिरहेको छ ।’
विगतमा भएका कतिपय कमजोरीको आत्मसमीक्षा गर्दै पार्टी हामी फेरि पनि यो देशका आम श्रमजीवी वर्ग, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुश्लिमलगायत उत्पीडित समुदाय र क्षेत्रको एजेण्डामा फर्केको उल्लेख गर्दै उनले पछिल्लो समय सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा गरिएको ऐतिहासिक थालनीलाई जनताले सकारात्मक रुपमा ग्रहण गरिरहेको जनाए । आफ्नो वर्ग र समुदायतर्फ फर्कदै जनताका एजेण्डालाई दृढतापूर्वक अघि बढाउने र जनतासँगको एकतालाई बलियो बनाउने सङ्कल्प गरेको उल्लेख गर्दै उनले यसले पनि जनतामा सकारात्मक प्रभाव पर्दै गएको जनाए ।
अध्यक्ष प्रचण्डले जनयुद्धको तयारी, सञ्चालन, शान्ति प्रक्रिया, संविधान निर्माण र गणतन्त्र घोषणाको ऐतिहासिक नेतृत्व गर्ने अवसर पाउनु आफ्नाका लागि गर्वको विषय भएको उल्लेख गर्दै क्रान्तिकारी शक्तिलाई अझ बलियो बनाउन जनयुद्धका सहयात्री लगायत सबै कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकताको अपिल गरे । क्रान्तिकारी शक्तिलाई बलियो बनाएर मात्रै प्रक्रियावादीका षड्यन्त्र विफल बनाउने र जनताले देखेको क्रान्तिको सपना पूरा गर्न सकिने उल्लेख गर्दै उनले क्रान्तिकारी शक्तिहरुलाई एकता र ध्रुवीकरणका लागि आह्वान गरे ।
राजनीति घोषणाको तहमा युगान्तकारी उपलब्धि प्राप्त गरे पनि जनताले प्रत्यक्ष देख्ने र भोग्ने गरी जनताको जीवन बदल्न नसकिएको उल्लेख गर्दै उनले तलैदेखि समाजवादी क्रान्तिको जग कसरी बसाउन सकिन्छ भनेर नयाँ सङ्कल्प गर्ने बेला आएको जनाए । ‘जनताको घर आँगनमा उज्यालो ल्याउने सङ्कल्प आजको मुख्य कार्यभार बनेको छ’ अध्यक्ष प्रचण्डले भने, ‘भर्खरै सम्पन्न केन्द्रीय सम्पन्न बैठकले त्यस दिशातिर पार्टीलाई अघि बढाएको छ । म सबैलाई यो अभियानमा लाग्न अपिल पनि गर्दछु ।’

भूमिसम्बन्धी अध्यादेश लोसपा नेपालले समर्थन नगर्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ । भूमिसम्बन्धी अध्यादेश जनताको हितविपरीत भएको लोसपा नेपालले जनाएको छ ।
अध्यक्ष महन्थ ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै भूमिसम्बन्धी अध्यादेशलाई आफ्नो पार्टीले समर्थन नगर्ने स्पष्ट पारेका हुन् ।
सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धिको दायराबाट बञ्चित राख्ने तथा वनफडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपा नेपालले ठहर गरेको छ ।
‘भूमिसम्बन्धी अध्यादेशप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस अध्यादेशको अन्तर्यको अध्ययन गर्दा समग्रमा अत्यन्त गरिब र पिछडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, गनगाईं, राजवंशी, रानाथारु लगायतका पूर्णरूपमा कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धीको दायराबाट बञ्चित राखिने तथा यो अध्यादेशले वनफडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने हाम्रो ठहर छ ।’
विज्ञप्तिमार्फत् लोसपा नेपालले यस्तो अवस्थामा अध्यादेशलाई यथास्थितिमा समर्थन गर्न नसक्ने निर्णय लिएको जनाएको छ ।

 

शंखरापुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० घाइते

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका ५ मा भएको स्कुल बस दुर्घटनामा तीन जनाको मत्यु भएको छ ।
तीन जनाको मत्यु भएको जनाए पनि प्रहरीले मृतक विद्यार्थीहरुको विवरण भने सार्वजनिक गरको छैन ।
जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले तीन जनाको मृत्यु भएको पुष्टि गरे ।
‘अहिलेसम्म तीन जनाको मत्यु भएको डाक्टरले जनाएका छन्’ उनले भने ।
चाबहिलको मैजुबाहलमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकला लागि बा २ ख ७९५८ नम्बरको बस नगरकोट गएको थियो । फर्कने क्रममा करिब ५ बजेतिर दुर्घटनामा परेको हो ।
सिन्धुपाल्चोकको चौतारा घर भएका ३९ वर्षीय मनिष माझीले उक्त बस चलाएका थिए ।

‘जनयुद्ध’ दिवसमा सार्वजनिक बिदा नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले ‘जनयुद्ध’ दिवसको नाममा सार्वजनिक बिदा नदिन अन्तरिम आदेश दिएको छ ।
रुकुमपश्चिमको बाफिकोट गाउँपालिकाले फागुन १ गते दिएको ‘जनयुद्ध’ दिवसको सार्वजनिक बिदाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश दिएको हो ।
स्थानीय वासिन्दा चन्द्रशेखर केसीले मंगलबार सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।
सार्वजनिक बिदा नदिन र नियमित रूपमा सरकारी कार्यालय सञ्चालन गर्न अन्तरिम आदेश आएको रिट निवेदक केसीले जनाए ।

नेपाल टेलिकमको नाफा २ अर्ब ६३ करोड

काठमाडौैँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले यस अवधिमा २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा कमाएको हो । उक्त नाफा गत वर्षको सोहि अवधिको तुलनामा तुलनामा ३३ प्रतिशतले कम हो । गत वर्ष सोहि अवधिमा कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ नाफा कमाएको थियो ।
गत वर्ष १७ अर्ब २४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको अहिले घटेर १७ अर्ब ४९ करोड रुपैयाँ कायम भएको छ । उक्त आम्दानी १.४६ प्रतिशतले घटेको हो ।
यता, कम्पनीको वित्तीय आम्दानी पनि ३ अर्ब ६१ करोडबाट घटेर २ अर्ब ३० करोड रुपैयाँमा झरेको छ । कम्पनीको वित्तीय आम्दानी ३६ प्रतिशतले घटेको हो । टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने २१ करोडबाट बढेर ४४ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।
पुष मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी अहिले घटेर २९.२८ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५०६.३४ रुपैयाँ रहेको छ ।

सिटिजन्स बैंक र वात्सल्य नेचुरल आइभीएफबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नारायणचौर, काठमाडौं स्थित वात्सल्य नेचुरल आइभएफबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले वात्सल्य नेचुरलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।
माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.७५ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

 

नेपाल उच्चशिक्षा लागि अब्बल रहेको उपप्रधानमन्त्री सिंहको दाबी

ललितपुर । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल शिक्षाको अब्बल गन्तव्य बन्दै गएको दाबी गरेका छन् । उनले नेपालमै विद्यार्थीहरुले उच्चशिक्षामा आएको अवसरलाई अधिकतम उपयोग गर्नुपर्ने पनि जनाए ।
नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईद्वारा बुधबार यहाँ आयोजित नवआगन्तुक विद्यार्थीलाई स्वागत, पुस्तकालय हस्तान्तरण तथा बृहत साँस्कृतिक कार्यक्रममा मन्तव्य राख्दै उपप्रधानमन्त्री सिंहले नेपालमै रहेर यहाँका विद्यालय, क्याम्पस र विश्वविद्यालयमा अध्ययन गरेर आफ्नो जीवनको लक्ष्य हासिल गर्न आग्रह पनि गरे । उनले भने, ‘हाम्रो देशमा शिक्षाको गुणस्तरलाई प्रश्न गरिन्छ, तर अहिले नेपालमै बसेर प्रविधिको उपयोग गर्दै विभिन्न बिषयमा अध्ययन गर्ने अवसर धेरै छन्, यसलाई तपाईंहरुले अधिकतम् उपयोग गर्नुपर्छ ।’
उपप्रधानमन्त्री सिंहले पाटन संयुक्त क्याम्पसको पूर्वाधार विकासमा गर्नुपर्ने काम यस क्याम्पसका प्रमुख र विद्यार्थीका प्रतिनिधिहरुसंग छलफल र समन्वय गरेर बजेट व्यवस्थापन गरेर समाधान गर्ने प्रतिबद्धता जनाए । सिंहले नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईका विद्यार्थीहरुले खाजा खर्चबाट जोगाएर पुस्तकालय पुनःनिर्माण गरेको पुस्तकालय उद्घाटन गरी क्याम्पसलाई हस्तान्तरण गरे ।
वि.सं. २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको पुस्तकालय भवनको मर्मतसम्भार, रंगरोगनका गरेर विद्यार्थीहरुलाई अध्ययनका लागि तयार पारेको हो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत, क्याम्पस प्रमुख डा. रघुविर विष्ट, नेविसंघ केन्द्रीय अध्यक्ष डुजाङ शेर्पालगायतले मन्तव्य राखे । क्याम्पस इकाई अध्यक्ष तारा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार विमलराज क्षेत्री, सन्दिप क्षेत्रीलगायतले प्रस्तुती दिए ।

सालीनदी माधव नारायण मेला आजबाट सकियो

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिने स्वस्थानी व्रत कथा समापन गरिदै छ ।
पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीको स्वस्थानी व्रतसँगै सुरु भएको सालीनदी माधव नारायण मेलापनि आजबाट समापन गरिदै छ ।
हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने सालीनदी मेलामा विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको हो ।

रुग्ण उद्योग पुनः सञ्चालनमा ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरु साझेदारीको ढाँचामा पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई अनुरोध गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सम्पन्न उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेकाले पुनः सञ्चालनका लागि ठोस प्रस्ताव भएमा यथाशिघ्र ल्याउन आग्रह गरेका हुन् ।
उनले मुलुकमा कानुनहरु सम्बन्धित क्षेत्रको सहजीकरण र आवश्यकताका लागि निर्माण र संशोधन गरिने जनाउँदै आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई के सहयोग गर्न आवश्यक पर्छ, त्यो गर्न तयार रहेको जनाए ।
प्रधानमन्त्री ओलीले भन्सार र राजस्वमा कुनै छली र अनियमिता पाइएका निर्ममताका साथ कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि जानकारी गराए । उनले मुलुकमा पैसा भएर मात्रै विकास नहुने भएकाले पैसा आर्जनका लागि विकास गर्नुपर्ने सोचका साथ लाग्नुपर्नेमा जोड दिएका छन् ।
परिषद्का सदस्यहरुले सार्वजनिक–निजी साझेदारीमा सहलगानी तथा सहकार्य, सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगवृद्धि, व्यापार घाटा कम गर्ने, अध्यादेशहरुको कार्यान्वयन, निर्माण व्यवसाय र आयोजना छिटो सम्पन्न गर्ने विषयमा आफ्ना राय–सुझाव दिएका थिए ।
सार्वजनिक–निजी क्षेत्रबीच नियमित संवाद गरी आर्थिक विकासमा सहयोग गर्न २०७५ असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम जारी भएको गठन आदेशका आधारमा उक्त परिषद् सञ्चालनमा आएको हो ।
परिषद्को सदस्यमा नेपाल उद्योग वाणिज्य महासङ्घलगायत राष्ट्रिय संस्था र व्यावसायिक प्रतिनिधिलाई प्रधानमन्त्रीले हालै मनोनयन गरेपछि परिषद्को बैठक भएको हो । बैठकमा सरकारका तर्फबाट भएका आर्थिक एवं प्रशासनिक सुधारका प्रयासहरु, अध्यादेशमार्फत २९ कानुनमा गरिएको संशोधन र त्यसका सकारात्मक प्रभावहरु, विकास निर्माणमा भएका प्रगतिहरु, स्टार्ट अप र व्यापार सहजीकरणका लागि गरिएका पहलबारे अवगत गराइएको थियो । बैठकले उत्पादन, पूर्वाधार, सामाजिक, व्यापार, निर्यात र शासकीय तथा प्रशासनिक गरी विभिन्न क्षेत्रमा परिषद्अन्तर्गतको समिति गठन गर्ने निर्णय गरेको छ । ती समितिले क्षेत्रगत समस्या र समाधानका विषयमा छलफल गरी परिषद्लाई सुझाव दिनेछन् ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, उद्योगमन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...